महाविर पुनलाई बिर्तामोड नगरपालिकाको ५० हजार सहयोग
राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ। आज एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले ५० हजार रुपैयाँ बराबरको ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेर सहयोग गरेकी हुन् ।
कार्यक्रममा नगर प्रमुख प्रसाईँले केन्द्रका अध्यक्ष महावीर पुनको प्रशंसा गर्दै पुनले सञ्चालन गरेको अभियान अत्यन्त महत्त्वपूर्ण रहेको बताइन् । नगर प्रमुख प्रसाईँले पुस्तक खरिद गरेर सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले डा. पुनको प्रयासको सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।
डा. महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ देशका विभिन्न पालिकामा पुगेर बिक्री गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै डा. पुनले पुस्तक मुख्यतः युवाहरूलाई लक्षित गरेर लेखिएको जानकारी दिए। साथै, सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न आग्रह गर्दै, देशका लागि आ–आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए। ती उपकरणहरू भविष्यमा पालिकाका साना किसानहरूका लागि लाभदायक हुने विश्वास व्यक्त गरे ।
डा. पुनका अनुसार हालसम्म २ लाख १८ हजार प्रति पुस्तक बिक्री भइसकेको छ, जसबाट खर्च कटाएर १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको छ। उक्त पुस्तकको मूल्य प्रति ७५० रुपैयाँ रहेको छ।