झापामा सवारी दुर्घटना दोब्बरले बढ्यो, ९५ जनाको मृत्यु, १०७३ घाइते
पछिल्लो समयमा झापामा सवारीसाधन दुर्घटना अत्यधिक बढेको छ । जिल्लामा दिनहुँ सवारीसाधन दुर्घटनामा परेका समाचारहरू आइरहँदा समेत यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो देखाएको पाइँदैन ।
जिल्लाका विभिन्न स्थानमा खटाइएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता नदिई राजश्व सङ्कलनमा मात्रै बढी ध्यान दिँदा सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको सरोकारवालाहरू बताउँछन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा परी ज्यान जनाको सङ्ख्या बढेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बर भन्दा बढी सवारी दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५९३ वटा सवारी दुर्घटनामा परी ८७ जनाको ज्यान गएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९६ सवारी दुर्घटनामा ९५ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष १६४ जना गम्भीर र ८०३ जना सामान्य घाइते भएका थिए ।
गत वर्ष दुर्घटनामा परी एक हजार ९३४ जना सामान्य र १३९ जना गम्भीर घाइते भएका छन् । गत वर्षमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा ५७ हजार ४५६ सवारीसाधन कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार ६४१ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।