२०८३ असार २ गते , मंगलबार

सुनसरीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

sajilo news
सुनसरी
२०८२ श्रावण ३ गते , शनिबार
सुनसरीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

सुनसरीका दुई स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इटहरी-धरान सडक खण्डमा रहेको चारकोसे क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर चारकोसे क्षेत्रमा धरानतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प २७२८ मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिराहा- ८ बस्ने ५० वर्षीय विमल साह रहेका छन् । तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) टीका नेपालका अनुसार घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिए पनि उपचारको क्रममा उनको दिउँसो १२ बजे मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा साहको टाउकोमा गम्भीर चोट लागेको थियो । यसैगरी रामधुनी नगरपालिका–६ स्थित चतरा–कान्छी चोक सडक खण्डमा इटहरी आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा इटहरीतर्फ नै आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर स्कुटर चालक रामधुनी–५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय सङ्गम चौधरी घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार