बाह्रदशी दुर्घटनामा परी घाइते उर्मिलाको पनि मृत्यु, मृतकको संख्या चार पुग्यो
झापाको बाह्रदशीमा सवारी दुर्घटना परी घाइते भएकी कचनकवल गाउँपालिका-३ डाकोपरा निवासी उर्मिला राजवंशीको मृत्यु भएको छ । दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
गत असार २५ गते दिउँसो ३ः४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक कचनकवल-३ डाकोपराका ६० वर्षीय श्रीप्रसाद राजवंशी, उनका ७ वर्षीय नाति आयुष राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी–१४ बस्ने २७ वर्षीय सुरज टुडूको सोही दिन मृत्यु भएको थियो ।
स्कुटर चालक श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला गम्भीर घाइते भएका थिइन् । आज दिउँसो १ः३५ बजे उर्मिलाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्कुटर चालक श्रीप्रसाद नाति आयुष र बुहारी उर्मिलालाई बुहारीको माइती छाड्न जाँदै थिए । सोही बेला तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी एकै परिवार तीन जनाको मृत्युले डाकोपराबासी अहिले शोकमा डुबेको छ ।