२०८२ मंसीर १२ गते , शुक्रबार

एसईई उत्तीर्ण भएकालाई प्रलोभन देखाएर कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान', पास गराइदिने आश्वासनले शैक्षिक गुणस्तर नै खतरामा

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण १ गते , विहीबार
एसईई उत्तीर्ण भएकालाई प्रलोभन देखाएर कक्षा ११ मा भर्ना गराउन 'विद्यार्थी तानातान', पास गराइदिने आश्वासनले शैक्षिक गुणस्तर नै खतरामा

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भइसकेको छ । ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थीहरू अहिले पूरक परीक्षाको तयारीमा जुटेका छन् । अभिभावकहरूले आफ्नो सन्तानको भविष्यका लागि गुणस्तरीय शिक्षा भएको विद्यालय नै पहिलो रोजाइमा राख्छन् । तर, अभिभावक तथा उनीहरूका सन्तानले रोजिरहेका विद्यालयको शैक्षिक गुणस्तर कस्तो छ ? भन्ने विषयमा गम्भीर प्रश्न उठ्न थालिसकेको छ । 

उनीहरूको वास्तविक ज्ञान र सीप कत्तिको बलियो छ भन्ने बारेमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गर्न थालिसकेका छन् । सो चिन्ता अभिभावक, विद्यार्थी तथा शिक्षकले पनि लिनुपर्ने बेला आइसकेको छ ।  शिक्षा सेवासँगै प्रतिस्पर्धात्मक व्यवसायमुखी बनिसकेको छ । सामुदायिक विद्यालयभन्दा पनि यो संस्थागत विद्यालयमा बढी देखिएको छ । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू कक्षा ११ मा कहाँ पढ्ने, कुन विद्यालयमा रोज्ने आआफ्ना अभिभावकहरूसँगको सल्लाह बमोजिम अगाडि बढिसकेको हुन्छ । तर, संस्थागत विद्यालयबीच अहिले “विद्यार्थी तानातान” को प्रतिस्पर्धा तीव्र बनेको छ । यो विद्यार्थी तानातानको प्रतिस्पर्धा जिल्लाकै सदरमुकाम भद्रपुरसहित झापामा पनि देखिएको छ । 

कक्षा ११ मा गुणस्तर शिक्षाको नाममा अभिभावकलाई विभिन्न प्रलोभन देखाएर भद्रपुरका एक पुराना संस्थागत विद्यालयले विद्यार्थीलाई नै खरिद गरिरहेको जनगुनासो अभिभावकहरूबाट आउन थालिसकेको छ । विद्यालयले विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा छात्रवृत्ति दिनु त्यो अभिभावकको लागि राम्रो हो । त्यसलाई गलत भन्न मिल्दैन । तर, ती विद्यालयमा कार्यरत एकाउन्ट हेर्ने शिक्षकले एसईई उत्तीर्ण गरेका एक विद्यार्थीलाई फेसबुक मेसेन्जरमा लेख्दै भनेका छन्– “कक्षा ११ को परीक्षामा बस्ने बित्तिकै पास भइहालिन्छ, ११ पास हुन केही पनि छैन । मेन भनेको कक्षा १२ हो । हाम्रो चाहिँ १२ कक्षाको परीक्षा केन्द्र भद्रपुर मावि हुन्छ, एमरेल्डमा होइन । भद्रपुर माविमा परीक्षा दिँदा मज्जाले पास हुने वातावरण हामी बनाउँछौँ ।” (यी कुराको सप्रमाण सुरक्षित छ, आवश्यक परेको खण्डमा विद्यालयको नाम र कर्मचारीको बाहिर ल्याउन सक्छौँ ।)

यो त एउटा विद्यार्थीलाई पठाएको म्यासेजको उदाहरण मात्र हो । यस्तो म्यासेज तथा कलहरू अरू विद्यार्थीहरूलाई पनि गरिएको छ । अब भन्नुहोस्, भद्रपुरमा शिक्षाको गुणस्तर कहाँ जादैछ ? यसको नियमन गर्ने निकाय कहाँ छ ? सजिलै पास गराइदिने, परीक्षा सेन्टर अनुकूल पारिदिने जस्ता लोभ लाग्दा प्रस्ताव राख्दै विद्यार्थीहरूलाई भर्ना गरिरहेका छन् । ११ कक्षामा फेल भए पनि पास गराइदिने र १२ कक्षामा विद्यालयको अनुकुल परीक्षा केन्द्र हुँदा पास गर्न सहज हुने भन्दै आश्वासन दिँदै विद्यार्थी तानिरहेका छन् । शिक्षा विज्ञहरू भन्छन्—“एसईई केवल प्रवेशद्वार हो । वास्तविक शिक्षाको मापन त कक्षा ११ र १२ मा हुन्छ । तर, विद्यालयहरूले परीक्षालाई सजिलो बनाउँदै बढी विद्यार्थी भर्ना गर्ने मानसिकता राख्ने हो भने यहाँ कस्तो शैक्षिक गुणस्तर निर्माण हुँदैछ र गरिँदैछ ।” 

\

“विद्यालयले विद्यार्थीको सङ्ख्या बढाएर आयआर्जन गराउन गुणस्तरभन्दा प्रचारमुखी रणनीति अपनाइरहेको छ । सजिलो पास गराइदिन्छौ भन्ने लोभमा परी विद्यार्थीको भविष्य नै जोखिममा पार्न यस्तो चलखेल रोक्नुपर्छ ।”  यसरी विद्यार्थीको शिक्षालाई व्यापारिक वस्तु बनाइँदा दीर्घकालीन असर नकारात्मक देखिने निश्चित छ । सम्बन्धित निकायले तत्काल निगरानी तथा नियमन नगरेको खण्डमा शैक्षिक संस्थाहरूको प्रतिस्पर्धा अझै विकृत दिशातर्फ उन्मुख हुने सङ्केत देखिन थालिसकेकोले शिक्षाविद्हरू चिन्तित छन् । 

एसईई उत्तीर्ण गर्नु मात्र पर्याप्त छैन, त्यसपछि प्राप्त हुने शिक्षाले विद्यार्थीलाई जीवनोपयोगी सीप र ज्ञान दिन सक्नुपर्छ । विद्यालय, अभिभावक र राज्यले शैक्षिक गुणस्तरमा सम्झौता नगरीकन दीर्घकालीन सोचसहित अघि बढ्न आवश्यक छ । नत्र विद्यार्थीहरू “पास भएको तर अयोग्य” पुस्ताको रूपमा परिणत हुने डर बढ्दो छ । 

यति मात्र नभई शैक्षिक सत्र सुरु भए लगतै कक्षा १ देखि ९ सम्मको विद्यार्थी भर्ना अभियानमा पनि भद्रपुरका संस्थागत विद्यालयको बदमासी देखिएको छ । उदाहरणका लागि कुनै विद्यार्थी ७ कक्षामा फेल हुन्छ भने उनको शैक्षिक गुणस्तर सुधार्ने पहिलो जिम्मेवारी ती विद्यालय प्रशासनको हुन्छ । ती विद्यार्थीलाई पुनः त्यही कक्षामा दोहोराउन विद्यालयले अभिभावकलाई सम्झाइबुझाई आग्रह गर्छन् । कुनै अभिभावकले विद्यालय प्रशासनको कुरा मान्छन् त कोहीले मान्दैनन् । नमान्ने अभिभावकहरू अर्को विद्यालय जान्छन् र कक्षा नदोहोराई माथिल्लो कक्षामा लगेर नानीको भर्ना गरिदिन्छन् ।

विद्यालयले पनि फेला भएर आएका ती विद्यार्थीको सीप र ज्ञान मापन नगरी दुई चार पैसाको लोभमा भर्ना गरिदिन्छन् । विद्यालयले भर्ना गर्नुअघि इएमआइएस ट्रान्सफर लेटर चाहिन्छ । तर, विद्यालयले त्यो बिना नै भर्ना गरिदिन्छन् । अनि पछि अभिभावकलाई पहिलाको विद्यालयबाट इएमआइएस ट्रान्सफर (emies transfer) पास भएको भनी लिएर आउनु, नत्र समस्या हुन्छ भनी दबाब दिन्छन् । त्यसपछि अभिभावक भौँतारिन्छन्, र सोर्सफोर्स लगाउन थाल्छन् । यस्ता विकृति पनि भद्रपुरका एक/दुइटा संस्थागत विद्यालयमा देखिएको छ । क्रमशः

सम्बन्धित समाचार