खोटाङमा स्थापना गरिएको पूर्वाधार विकास कार्यालयको उद्घाटन
पहाडी जिल्ला खोटाङमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङको दिक्तेलमा स्थापना गरेको पूर्वाधार विकास कार्यालयको आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। समारोहमा कोशी सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह लगायतले पूर्वाधार विकास कार्यालयको उद्घाटन गरेका हुन् ।
भौतिक पूर्वाधार तथा सेवा प्रवाहमा तीव्रता दिने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयले खोटाङ जिल्लाको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको मन्त्री राईले बताए । कोशीका १४ जिल्लामध्ये सुनसरी, खोटाङ, सोलुखुम्बु, पाँचथर र ताप्लेजुङमा पूर्वाधार विकास कार्यालय थिएन । आज खोटाङ र सुनसरीमा कार्यालय स्थापना भएको र सोलुखुम्बुमा भोलि स्थापना गरिने भौतिक पूर्वाधार विकास राज्यमन्त्री राजवंशीले जानकारी दिए । साउन पहिलो साताभित्र पाँचथर र ताप्लेजुङमा पनि कार्यालय स्थापना गरिसक्ने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायत सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारणहरूको सहभागिता रहेको थियो ।