दमकमा स्कुटरको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु
दमकमा स्कुटरको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु भएको छ । आइतबार राति ८.३० बजे दमक-१० जहदा टोलस्थित भित्री सडक खण्डमा मे ७ प ३७८९ नम्बरको स्कुटरले पैदल यात्री सोही ठाउँ बस्ने ७७ वर्षीय देवबहादुर श्रेष्ठलाई ठक्कर दिई घाइते बनाएको थियो । दाहिने हात भाँच्चिएको, टाउको , दुवै खुट्टा र अनुहारमा चोट लागेर बोल्न नसक्ने गम्भीर अवस्थाका वृद्धलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको थियो ।
त्यहाँ भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा निको हुने सम्भावना नदेखेर परिवारले त्यहाँबाट घर ल्याएका थिए । घर ल्याउने क्रममा गम्भीर देखिएपछि दमक अस्पताल दमकमा ल्याइपुर्याउँदा गएराति ८ः५८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमपश्चात् मृतकका छोरा सुरेशकुमार श्रेष्ठले शव बुझेका छन् । स्कुटर चालक तेह्रथुम म्याङलुङ घर भई हाल दमक- १० बस्ने १६ वर्षीय अर्चन खापुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।