२०८३ असार २ गते , मंगलबार

अडियाे घुस प्रकरण : प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

sajilo news
पार्थ मण्डल
२०८२ असार ३१ गते , मंगलबार
अडियाे घुस प्रकरण : प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। गुप्ताको घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका हुन्।

घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्न चौतर्फी दबाब बढेको थियो।  प्रधानमन्त्री कार्यालय स्रोतअनुसार मन्त्री गुप्तालाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए।

उनले आज प्रधानमन्त्री कार्यालयमा पुगेर राजीनामा दिएका हुन्। मंगलबार राजीनामा बुझाएपश्चात नखाएको विष पनिको सिकार भएको उल्लेख गरेका छन्। ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ। कहिले काँही नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए।अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु।’ गुप्ताले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहि पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ 

उनले पार्टीले दिएको जिम्मेवारी इमान र निष्टाको साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भनेका छन्,‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।’ 

प्रतिनिधिसभामा उनलाई हटाउने पर्ने आवाज उठेको थियो। प्रतिपक्षमा मात्रै होइन, सत्तापक्षकै सांसदहरूले उनलाई हटाएर अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन्।  केही महिनाअघि मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम पाएको अडियो केही दिनअघि बाहिर आएको छ । खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा रोक्न घुस लिएको अडियो सार्वजनिक भएको छ । यो विषयमा अख्तियारमा पनि उजुरी परेको छ । अख्तियारले छानबिन भइरहेको जनाएको छ।

सम्बन्धित समाचार