२०८३ असार २ गते , मंगलबार
इलाममा कुदिरहेको ट्याक्सीमाथि रुख लडेपछि...
इलाममा कुदिरहेको यात्रुवाहक ट्याक्सीमाथि रुख भाँचिएर झरेको छ । आज दिउँसो १२ः३० बजे माई नगरपालिका-४ सुखानी पार्कमा बिर्तामोडबाट शुक्रवारेतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ४०२३ नं. को ट्याक्सीमाथि चिलाउने जातको रुख अचानक भाँचिएर झरेको हो ।
ट्याक्सीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्याक्सीमा चालक माई-१० बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलसहित ९ जना सवार रहेका थिए । उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
ट्याक्सीमाथि रुख लडेपछि बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । प्रहरी चौकी लोदिया दानाबारीबाट प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमान्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएर बाटो पूर्णरुपमा खुलाउने पहल भइरहेको इलाम प्रहरीले जनाएको छ ।