दमकमा स्कुटरलाई टिपरले ठक्कर दिँदा महिलाको मृत्यु
दमकमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी दमक–३ निवासी अन्दाजी ५५/५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
आज दिउँसो अन्दाजी १२ बजे दमक नगरपालिका-३ संगम चोकस्थित भित्री पक्की सडक खण्डमा डिपुचोकबाट आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटरको पछाडि सवार गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी स्कुटर चालक दमक-३ बस्ने ४४ वर्षीया टिका गौतमको दाहिने खुट्टाको घुँडामा सामान्य चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटर, टिपर र टिपर चालक बिर्तामोड–२ बस्ने ४६ वर्षीय तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई दिनका लागि झापा आएका प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको आधा घण्टापछि उक्त सडकमा सो दुर्घटना भएको हो ।