बाह्रदशी दुर्घटना : हजुरबुबा र नातिको एउटै चित्तामा दाहसंस्कार, डाकोपराबासी शोकमा
झापा । सवारी दुर्घटनामा परी मृत्यु भएका झापा कचनकवल गाउँपालिका-३ स्थित डाकोपराका हजुरबुबा र नातिको एउटै चित्तामा दाहसंस्कार गरिएको छ ।
बुधवार दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका-१ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो ।
स्कुटर चालक कचनकवल-३ डाकोपराका ६० वर्षीय श्रीप्रसाद राजवंशीसँगै उनका ७ वर्षीय नाति आयुष राजवंशीको पनि मृत्यु भएको छ । श्रीप्रसादको घटनास्थलमै र नाति आयुषको गएराति ९ः२५ बजे उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अवस्था पनि गम्भीर रहेको छ । उनको बीएण्डसी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । मृतक दुवै जनाको आज एउटै चित्तामा दाहसंस्कार गरिएको जनाइएको छ । उनीहरूको मृत्युले डाकोपराबासी शोकमा डुबेको छ । स्थानीयका अनुसार श्रीप्रसाद बुहारी उर्मिला र नाति आयुषलाई छाड्न शिवगञ्ज जाँदै थिए । शिवगञ्ज उर्मिला माइती हो । त्यस्तै दुर्घटनामा परी मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी-१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो । उनको शवलाई पोस्टमार्टम गरी भारत पठाइसकेको जनाइएको छ । दुर्घटनामा मोटरसाइकल चालकको तीब्र गतिका कारण भएको प्रहरीको निष्कृश छ ।