बिर्तामोड दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो, फरार हायस चालक पक्राउ
झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी मृत्यु भएको व्यक्तिको पहिचान खुलेको छ । साथै ठक्कर दिई फरार भएका हायस र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतक सप्तरीको सुरुङ्गा नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिका–२ रामचोकस्थित सडक छेउमा बुधवार राति १० ४५ बजे इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको गस्ती टोलीले एक पुरुषलाई टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो। घाइते अवस्थामा रहेका उनलाई तत्कालै उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, राति १०:५५ बजे अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे अनुसन्धानका क्रममा आज दिउँसो १२ बजे काँकडभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस र त्यसका चालक मकवानपुर, थाहा नगरपालिका–७ निवासी २७ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।