२०८३ असार २ गते , मंगलबार

उपल्लो मुस्ताङमा लेदोसहितको बाढी, चारवटा पुल बगायो

sajilo news
झापा
२०८२ असार २५ गते , बुधबार
उपल्लो मुस्ताङमा लेदोसहितको बाढी, चारवटा पुल बगायो

जोमसोम । उपल्लो मुस्ताङमा मंगलबार साँझको लेदोसहितको बाढी सामान्य अवस्थामा फर्किएको छ । चुम्जुङ खोला बाढीले त्यहाँका ६ वटा पुल ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण लेदोसहित अकल्पनीय बाढी आएको थियो ।

बाढीले त्यहाँस्थित लोमान्थाङ-४ को रिङरोड सडकको चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ को रिङरोड सडक साम्जुङमा निर्माणधिन अर्को एक गरी दुईवटा पक्की मोटरेबल पुलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बाढीले त्यसक्षेत्रको फलामे पुल र अरु तीनवटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बिचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ—४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका २ वटा घरका नागरिकलाई राति सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिए।

डीएसपी लामाका अनुसार बाढीले  त्यसक्षेत्रमा  पुलहरूमा क्षति पुर्‍याए पनि मानवीय तथा पशुचौपाया क्षति नभएको बताए । बाढीको सतह अहिले सामान्य अवस्थामा फर्किएको भएपनि मनसुन कायम रहेकाले सुरक्षा सावधानीलाई निरन्तरता दिइएको छ । त्यहाँको इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली गएरातिदेखि परिचालित रहेको डीएसपी लामाले उल्लेख गरे। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार