भोटेकोशीको बाढीले १६ जना बेपत्ता, ९ जनाको उद्धार, रसुवागढी नाका जोड्ने पक्की पुल र सवारी साधन बगायो
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन्। चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्। रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको उनले बताए। त्यस्तै बाढीले अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पक्की पुल बगाएको छ । गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो। बाढीले भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ। नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि रहेको हुन सक्ने बताए। उनले उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको र खराब मौसमको कारण समस्या भएको बताए।