मोरङमा सवारी दुर्घटना, दुईजनाको मृत्यु
मोरङका अलग अलग स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर र पथरीशनिश्चरेमा दुर्घटना भएको हो । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ आयल निगममा सोमबार बिहान ४:३५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । ढाटबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी उनले दिए ।
मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सप्तरीको मधुवन घर भएका अन्दाजी २४ वर्षीय अरविन यादवको मृत्यु भएको लम्सालले बताए । उनका अनुसार गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।