झापाका पाँच स्थानीय तहका ४७१ जनालाई धनीपुर्जा वितरण गरिने
झापाका पाँच स्थानीय तहका ४७१ लाई धनीपुर्जा वितरण गरिने भएको छ । मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलो पटक ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न लागेको हो ।
भूमि समस्या समाधान आयोग झापाको आज बसेको बैठकले बुद्धशान्ति गाउँपालिकाका १९५, अर्जुनधारा नगरपालिकाका १२८, गौरीगञ्ज गाउँपालिकाका ११, कनकाई नगरपालिका का १३५ र दमक नगरपालिकाका २ भूमिहीन दलित/सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि २०८१ को दफा (६) र भूमिसम्बन्धी नियमहरू २०२१ को २० औँ संशोधन को दफा ५ को बमोजिम जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय गरिएको आयोगका विज्ञ लक्ष्मी आचार्यले बताए ।
बुद्धशान्ति , अर्जुनधारा , कनकाई , गौरीगञ्ज र दमकका ५४१ अव्यवस्थित बसोबासीका लागि सात दिने सूचना जारी गरिएकोमा ४७१ जनाले नियम अनुसार राजश्व दाखिला गरेकाले उनीहरूलाई असार मसान्तभित्र धनीपुर्जा वितरण गरिने आचार्यले जानकारी दिए । त्यस्तै कनकाई नगरपालिकाका भूमिहीन , दलित र भूमिहीन सुकुम्वासी ७१ परिवारलाई समेत पुर्जा तयार गरी वितरण गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
यसका अलावा बाह्रदशी , शिवसताक्षी , मेचीनगर , कमल र दमकका विभिन्न वडाहरूको फायल बनाउने काम भइरहेको छ । सम्बन्धित पालिका र राजनीतिक दलहरूसँग समन्वय गरी धनीपुर्जा वितरण कार्यक्रम तय गरिने भएको छ । असार २६ देखि २९ गतेभित्र धनीपुर्जा वितरणको कार्यक्रम हुनसक्ने जनाइएको छ ।