२०८३ असार २ गते , मंगलबार

भोलिदेखि तीनवटा प्रदेशमा भारी वर्षा हुने, बाढीपहिरोको उच्च जोखिम

sajilo news
काठमाडौं
२०८२ असार १३ गते , शुक्रबार
भोलिदेखि तीनवटा प्रदेशमा भारी वर्षा हुने, बाढीपहिरोको उच्च जोखिम

शनिबारदेखि तीनवटा प्रदेशमा भारी वर्षा हुने हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष मौसम बुलेटिन जारी गरेर हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको र शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको जनाएको छ। 

उक्त प्रभावले कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको हो। 

महाशाखाका अनुसार बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण असार १४ गते शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

साथै अन्य प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार