२०८३ असार २ गते , मंगलबार
बिर्तामोडको चिया पसलमा आगो लगाएर महिला फरार भएपछि...
बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक चिया–नास्ता पसलमा आगलागी भएको छ। बलभद्र प्रसाईँद्वारा सञ्चालित टिनको छानो र टिनको बेरा भएको भुईँतले पसलमा आज दिउँसो करिब ४ बजे आगो लागेको हो।
पसल सञ्चालककी श्रीमती ३८ वर्षीया सोईता प्रसाईँले मादक पदार्थ सेवन गरेर श्रीमानसँग झगडा गरेपछि पेट्रोल छर्की आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । आगलागी गरेपछि श्रीमती फरार रहेको जनाइएको छ।
स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४:२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्र रहेका सामग्री जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।