मेयर बलदेवले भने– घर अगाडि कालोपत्रे हुँदा युवा क्यारेम खेलेर बस्छन्, नगरपालिकाले केही गरेन भन्दै फेसबुकमा लेख्छन्
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गरेका छन् । उनले विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडि कालोपत्रे हुँदा वास्ता नगर्ने प्रवृत्ति हाबी हुँदै गएको बताएका छन् ।
बिहीबार अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालय परिसर खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताएका हुन् । नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा आम नगरवासीको चासो र चिन्ता हुनुपर्ने भन्दै आगामी दिनमा आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम खेलेर नबस्न आग्रह गरेका हुन् । घर अगाडि कालोपत्रे भइरहेको छ, सचेत युवा क्यामेरमा व्यस्त छ, उनले भने – त्यही युवा क्यारेम खेलिसकेर नगरपालिकाले केही गरेन भन्दै फेसबुकमा लेख्छ । बाटो नजिकै घर भएका मान्छेहरूलाई पाहुनालाई जस्तै बोलाउनुपर्छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिदैं उनले नगरको विकासको दायित्वमा नगरवासीको पनि उत्तिकै भूमिका रहेको बताए । आफ्नो वडामा, घर अगाडि कसरी काम भइरहेको छ भन्ने विषयमा समेत कमैले चासो दिइरहेको उनको भनाई छ । काम गरेको नदेख्ने, नकारात्मक कुराहरू मात्र फैल्याउनु भनेको गैर जिम्मेवार नागरिकको काम हो, उनले थपे – विकास निर्माणदेखि नगरका सबै किसिमका कामहरूमा नगरबासीले ध्यान दिन जरुरी छ । सबैले तथ्यसहित आलोचना गरेको कुरा पाच्य हुने भए पनि विना तथ्य गर्नु भनेको विरोधको लागि विरोध मात्र हुने स्पष्ट बनाए ।
सार्वजनिक सुनुवाइमा मेयर तामाङले खोला दोहनमा पनि नागरिकहरूको तर्फबाट पर्याप्त खबरदारी गर्नुपर्ने सुझाव दिए । खोला दोहन भइरहेको छ, मेयर नै आएर रोक्नुपर्छ भन्ने मानसिकता त्याग्नुहोस्, उनले भने – ‘त्यस्तो अवस्थामा हरेक नागरिकले खबरदारी गर्नुपर्छ । नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौँ ।’ जनताले चाहे जति विकास अहिले नै पुरा नभए पनि बिस्तारै पुरा गर्ने उनको धारणा थियो । उनले थपे, अहिले भइरहेको विकासको संरक्षण चैँ राम्रोसँग गर्नुहोस् ।
कार्यक्रममा विरिङ पुल निर्माणको सम्बन्धमा उठेको जिज्ञासामा जवाफ दिँदै मेयर गोम्देनले पुल निर्माणका लागि प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसम्म पुगेर तत्काल निर्माणका लागि सहयोग मागेको जानकारी दिए । उनले आफूलाई पनि विरिङ पुल निर्माण गर्न धेरै हतार नै भएको जानकारी गराए । विरिङको पुलको विषय प्राथमिकतामा राखेको उनको भनाई छ ।
सार्वजनिक सुनुवाइमा उपमेयर खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं ३ का वडाध्यक्ष सिताराम भट्टराई लगायतले जवाफ दिएका थिए । सहभागीहरूले ट्रिपरलाई टाइम कार्ड लागु गर्नुपर्ने, वडामा टोल विकास संस्था, खेलकुद समिति गठन गर्नुपर्ने, बजारमा प्रभावकारी अनुगमन गर्नुपर्ने, ऐलानी जग्गाको समस्या समाधान गर्नुपर्ने, खोला दोहन रोक्नुपर्ने, अनुदानका सूचना सबैसम्म पुराउनुपर्ने, सडक बत्तीको समस्या समाधान गर्नुपर्ने, वडा नं. ३ को कार्यालय रहेको जग्गा क्षेत्रको समस्या समाधान गर्नुपर्ने, चुनावी घोषणा पुरा गर्नुपर्ने सवाल र सुझाव राखेका थिए ।
अर्जुनधारा नगरपालिका झापाको आयोजना तथा इजलास मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडाहरूबाट गरिएको नागरिक अभिमत र बहिर्गमन सर्वेक्षणको नतिजा कार्यक्रम संयोजक प्रदीप परियारले सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण विजय तिम्सिनाले गरेका थिए ।