२०८३ असार २ गते , मंगलबार

काठमाडौँको विष्णुमति खोलामा कार खसेपछि चालक हाम फाले, बगेकी महिलाको उद्धार

sajilo news
काठमाडौं
२०८२ असार १२ गते , विहीबार
काठमाडौँको विष्णुमति खोलामा कार खसेपछि चालक हाम फाले, बगेकी महिलाको उद्धार

विष्णुमती खोलाले बगाएको कारमा सवार एक महिलाको उद्धार गरिएको छ। गएराति सवा दश बजेतिर काठमाडौँको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमती खोलामा कार खसेको र सोही कारमा सवार महिलाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँको धुम्बाराही बस्ने अङ्कुश सिंहले चलाएको बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको प्राइभेट कार खोलामा खसेपछि सवारी चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए। सिंह निस्किएपनि कारभित्र सवार काठमाडौँको टोखा बस्ने भावना ओलीलाई बगाएको हो। गाडीसहित बगेर बाँनियाटार पुलमा आइ पुगेपछि गाडी अड्किएको अवस्थामा ओलीलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेको प्रहरीले जनाएको छ।

ओलीलाई उद्धार गरी उपचारको लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीको भनाई छ। क्रेनको सहायताले खोलाभित्र रहेको उक्त कार बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ। उद्धारका क्रममा  प्रहरी र स्थानीयसमेत घाइते भएका छन्। गएरातिको वर्षाका कारण खोलाको बहाव बढेको थियो।

सम्बन्धित समाचार