२०८३ असार २ गते , मंगलबार

अध्यागमनको निर्णयले अमेरिकाबाट निष्कासित चार भुटानी शरणार्थीको बिचल्ली

sajilo news
झापा
२०८२ असार १० गते , मंगलबार
अध्यागमनको निर्णयले अमेरिकाबाट निष्कासित चार भुटानी शरणार्थीको बिचल्ली

अमेरिकाले निष्कासन गरेका चारजना भुटानी नागरिक बिचल्लीमा पर्ने भएका छन्। नेपालको अध्यागमन विभागको निर्णयका कारण ती भुटानी नागरिकहरू बिचल्लीमा पर्ने भएका हुन्। अमेरिका र भुटानले अस्वीकार गरेका चारजना भुटानीलाई नेपालले समेत निष्कासन गर्ने निर्णय गरेपछि उनीहरूले थप समस्या झेल्नुपर्ने भएको हो।

अध्यागमन विभागले ती चारजना नागरिकहरू भुटानी भएको र उनीहरूले भुटान सरकारले जारी गर्ने कागजात पेस गर्नुपर्ने निर्णय गरेको छ। जबकि अमेरिकाले निष्कासन गर्ने क्रममा वाशिंगटन डीसीस्थित भुटानको दूतावासले उनीहरूलाई जारी गरेको ट्राभल डकुमेन्ट (यात्रा अनुमति पत्र) थिम्पुमा ओर्लिएलगत्तै खोसेर भुटान सरकारले नेपाल पठाएको थियो।

नेपालको अध्यागमनले थप उनीहरूलाई समस्या पर्नेगरी भुटानले जारी गरेको ट्राभल डकुमेन्टसहितको कागजात पेस गर्न भनेको छ। भुटानी शरणार्थीको हैसियतले नेपाल बसोबास गरेको र १० वर्षअघि नै नेपालबाट तेस्रो मुलुकमा पुनर्वास भइसकेको अध्यागमन विभागको ठहर छ। 

'तपाईँहरू पुनर्वास भएको देश अमेरिकाले आफ्नो देशबाट निष्कासन गरी तपाईँहरूलाई तपाईँहरूको पैतृक देश भुटानमा ल्याई छोडी दिएकोमा भुटानमा बस्न सक्ने अवस्था रहेको भनी भारतको बाटो हुँदै नेपाल आइपुगेको व्यहोरा तपाईँहरूले खुलाएको बयान समेतका आधारमा देखिन आउँछ। यसबाट तपाईँहरू भुटानी नागरिक भएको तथा भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको र प्रवेश हुने क्रममा विदेशी नागरिकले प्रवेशस्थलबाट भिसा लिएरमात्र नेपाल प्रवेश गर्नुपर्नेमा सो नगरिएको अवस्था देखिन्छ,' अध्यागमनले भनेको छ।

गैरकानुनी तरिकाले नेपाल प्रवेश गरेपछि अध्यागमनले चारैजनालाई जनही ५ हजार जरिवाना पनि तोकेको छ। अध्यागमन ऐन, २०४९ को दफा ३९१० मा 'कुनै पनि विदेशीले राहदानी र भिसा नलिइ नेपालभित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन' भन्ने व्यवस्था छ। त्यस विपरीत कार्य गरेको भन्दै अध्यागमनले उनीहरूलाई जरिवाना तोकेको हो।

स्रोतका अनुसार नेपाल प्रवेश गरेको मितिदेखि उनीहरूसँग भिसा शुल्क, विलम्ब शुल्कलगायतका दस्तुर लिई प्रवेश भिसा जारी गर्न निर्देशन दिइए पनि उनीहरूसँग भुटानको राहदानी तथा भिसा जारी गर्न आवश्यक यात्रासम्बन्धी कागजात छैन। तर अध्यागमनको यही निर्णयले नै उनीहरू थप समस्यामा पर्ने भएका हुन्। चारजनाले यी कागजात पेस गरेपछि निष्कासनको लागि नियमानुसार प्रक्रिया अघि बढाइने पनि अध्यागमनले अध्यागमनले जनाएको छ। उनीहरूलाई भुटानले आवश्यक कागजात दिन असंभवजस्तै छ।

आवश्यक कागजात पेस नगर्दासम्म उनीहरूलाई शरणार्थी शिविरमा राख्ने अनुमति दिइएको छ। स्रोतका अनुसार आशिष, सन्तोष र अशोकलाई बेलडाँगी शरणार्थी शिविर र रोशनलाई पथरी शरणार्थी शिवरमा बस्न अध्यागमनले अनुमति दिएको छ। नेपाल बसाईका क्रममा कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न उनीहरूलाई निर्देशन पनि दिइएको छ। त्यस्तै उनीहरूको बासस्थानबारे नेपाल प्रहरीको सम्बन्धित इकाइलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।  सर्वोच्च अदालतले चारैजना भुटानी शरणार्थीहरूलाई स्थानहद तोकेर अनुसन्धान गर्न आदेश दिएको थियो।

सम्बन्धित समाचार