इरान-इजरायल युद्ध : दुवैतर्फ मिसाइल हानाहान, इजरायलमा ३ जनाको मृत्यु
इरानको मिसाइल आक्रमणमा परी इजरायलमा ३ जनाको मृत्यु भएको छ। दक्षिण इजरायलको बियर शेभा सहरमा रहेकोआवासीय भवनमा मिसाइल आक्रमण हुँदा ३ जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाहरूले पुष्टि गरेका छन्। आपतकालीन सेवा मगेन डेविड अदोमका अनुसार गम्भीर घाइते भएका ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवकको मृत्यु भएको हो।
घटनामा थप ६ जना व्यक्तिहरू सामान्यदेखि मध्यम घाइते भएका छन्। उनीहरूको अहिले उपचार भइरहेको छ। इजरायली डिफेन्स फोर्सेसले इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै नागरिकहरूलाई सेल्टरमा जान निर्देशन दिएको छ। यो आक्रमण पछिल्लो समय इरान–इजरायलबीच चुलिएको तनावको गम्भीर संकेत हो। यता इजरायलले पनि इरानको राजधानी तेहरानका विभिन्न स्थानहरूमा हमला गरेको गरेको छ।
इरानी सरकारसम्बद्ध तास्निम समाचार एजेन्सीले स्थानीय समयअनुसार मंगलबार बिहान इजरायलले आक्रमण गरेको जनाएको हो। इजरायली सेनाले यसअघि तेहरानको मेहरान र जिल्ला ६ का बासिन्दालाई सैन्य कारवाही हुने चेतावनी दिएको थियो। साथै, जिल्ला ७ पनि इजरायली सेनाले खाली गराउने सूचना जारी गरेको थियो। युद्धविराम भएको अमेरिकाको दाबीकै बीच इजरायलले इरानमा आक्रमण गरेको हो।