२०८३ असार ३ गते , बुधबार

बिर्तामोडको पशुपक्षी शाखालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

sajilo news
झापा
२०८२ असार ८ गते , आईतबार
बिर्तामोडको पशुपक्षी शाखालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

बिर्तामोड ।  बिर्तामोड नगरपालिका १० मा अवस्थित मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालिले नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।

एक संक्षिप्त कार्यक्रमका बीच उक्त सामग्री नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलालाई संस्थाका निर्देशक राजेन्द्रकुमार श्रेष्ठ र उपनिर्देशक अतिनराज प्रधानले हस्तान्तरण गरे । 

कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत खोरेँत तथा लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिए। उनले खोरेँत र लम्पी रोग नियन्त्रण गर्न सकेमा गाईको दूधबाट उत्पादित छुर्पी लगायतका सामग्रीहरू विदेशी बजारमा निर्यात गर्न सहज हुने विश्वास व्यक्त गरे।त्यसैगरी, नगर उपप्रमुख सङ्ग्रौलाले स्वास्थ्य सामग्री प्रदान गरेबापत मनराम हिमालयन ह्यान्डिक्राफ्टलाई धन्यवाद व्यक्त गर्दै यसले स्थानीय किसानहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताए। निजी क्षेत्रबाट प्राप्त सहयोगले खोरेँत तथा लम्पी स्किन रोगको नियन्त्रणमा टेवा पुग्ने उनको भनाइ थियो।

नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काका अनुसार, असार ३ गतेदेखि नगरका विभिन्न वडामा खोरेँत तथा लम्पी रोग विरुद्धको खोप कार्यक्रम निःशुल्क रूपमा सञ्चालन भइरहेको छ, जसमा पाँच जना प्राविधिक खटिएका छन्। हालसम्ममा वडा नम्बर ६,७ र ९ मा सम्पन्न भइसकेको छ । कार्यक्रममा शाखा अधिकृत सावित्रा दाहाल, मनराम हिमालयन ह्यान्डिक्राफ्टका डकुमेन्ट अफिसर जीना पौडेल, प्रतिनिधि वसन्त पौडेलको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार