२०८२ मंसीर १२ गते , शुक्रबार

व्यवस्था र अवस्थाबीचको वैपरीत्य : ‘हेल हिटलर !’ र ‘म झोले हुँ !’–को अर्थसाम्यता !

sajilo news
झापा
२०८२ असार ८ गते , आईतबार
व्यवस्था र अवस्थाबीचको वैपरीत्य : ‘हेल हिटलर !’ र ‘म झोले हुँ !’–को अर्थसाम्यता !

—नकुल काजी
जम्मा लगभग तीन करोड नागरिक–संख्या भएको यो प्राकृत सम्पदाको धनाढ्य नेपाल भूमि ! यस भूमिबाट वैध–अवैध रूपमा लगभग एक करोड नागरिक विवशतावश विदेश पलायन भइसकेका छन् र तिनका खाली ठाउँ लगभग उत्ति नै विदेशी (खासगरी इण्डियन) घुसपैठ भई शासकीय न्यानोमा रमिरहेका छन्। अर्थात्, ती घुसपैठियामध्ये धेरैले यस देशको ‘नागरिकता’ पनि घुसपेश र ‘भोट’–सँग सट्टापट्टा गरिसकेका पनि होलान् – जसको मातृभूमि (इण्डिया)– सँगको सम्बन्ध पनि, एकाध बाहेक, नेपालभन्दा प्रिय रूपमा कायमै भएको बुझिने गर्दै आएको छ  !
त्यसो त नेपालका विभिन्न ओैपचारिक तहमै गानिएकाहरूमध्ये अधिकांश नेपाल–इण्डिया दुबैतिरका नागरिक नै छन् र यता आर्जेको गाँठ इण्डियातिर ओसार्ने गर्छन् भन्ने चर्चा पनि ‘नेपालको बाह्य शोषण’–सँग जोडिँदै आउने गर्दै आएको छ ! यसका साथै, ‘नेपाल देश’–को राष्ट्रियता, राज्यव्यवस्था र समसामयिक अवस्थाका प्रति उनीहरू ‘जता मल्खु उतै ढल्कु’– को चलखेलमा खप्पिस मानिने गरिन्छ । अथवा, यस देशको अगति–प्रगतिको ऊहापोहसँग उनीहरूको खासै सरोकार नहुने देखिएकै छ ।
अतः यस्ता विदेशीकै हैसियतका वा ‘देशी बनेर’ जम्नसकेका ‘विदेशी’ मल–जलले धन्य बन्ने गरेका शासकीय हकवाला र पवित्र जनमतलाई केवल शासक तर्छाउने ढ्यांग्रो बनाउन सदा सक्रिय प्रतिपक्ष बाहेक मोैलिक नश्लका पक्ष–निरपेक्ष नेपालीहरूको आजको मानसिक अवस्था आत्तिएको वा प्रकारान्तरले आतंकित छ । र, यो आतंक अझ बढ्ने संकेत बोकेर नयाँ–नयाँ अभियान सत्तामूलीबाटै प्रारम्भ हुुने गर्दै आएका पनि छन् ।
पहिला–पहिला ‘समृद्ध नेपाल सुखी नेपाली’–ले नेपाली जनमनलाई लोभ्याउने र आफ्नो शासकीय रजगजको आयु तन्काउने उपाय हुँदै आएको क्रममा अहिले ‘झोले अभियान’ शुरु भई सर्वाधिक विवादमा छ । विश्व–कुख्यात तानाशाह एडल्फ हिटलरले सार्वजनिक अभिवादनमा बहुअर्थक ‘हेल हिटलर !’ प्रयोग गराउने गर्थे भन्ने इतिहासमा पाइन्छ । त्यस्तै केही, वैयक्तिक उच्चता बुझाउने, उद्देश्य त कतै यो ‘म झोले हुँ  !’–मा निहीत छैन ? – जस्ता प्रश्नहरू पनि अहिले सचेत वर्गका नेपालीमा छिरोलिने क्रममा छ !
यद्यपि, ‘झोले’ शब्द यो २०८२ साल जेठ ३० गतेयता हिटलरको ‘हेल हिटलर’ जस्तो पक्ष–विपक्ष कुनै फाँटका लागि पनि दुर्बाेध पहेली रहेको छैन । मालिकबाट ‘म पनि झोले’ प्रस्फुटित हुनासाथ झोले अवतार फेरेकाहरू किंवा ‘काले–काले मिलेर खाउँ भाले’–मा मुख मिठ्याएर उछिन–पाछिन गर्ने सत्ताप्रमुखका ‘हनुमान चालीसे’–मा उल्था भएकाहरूका लागि त ‘प्रभुभक्ति’–को मानक नै बनेको हुनसक्छ । अन्यहरूका लागि पनि यो शब्द परेवा, भँगेरा, काग–रुप्पीहरूका लागि बिस्कुन सरह नै बनेको छ – ‘सत्ताशक्तिरूपी’ रुँगालोले जति धपाए पनि झ्याउँझ्याउँ !...
         पुर्खाले एकतन्त्रीय जहानियाँ हुकुमी राणा चोट्टाहरूको शासन भोगेर राजातन्त्रको एकहाते कालखण्ड पनि गुजारे ! अहिलेको ‘लोकतन्त्र’–को दोसल्ला ओढेको अधिनायकीय वा तानाशाही ढबको शासनमा छोरा–नातिहरू जकडिएका हुनन् । यो पनि अर्काे अनुभवले आवेष्टित होला – आप्लावित होला नै । जनसंख्यामा भूइँ–नागरिकको अतुलनीय बहुप्रतिशत छ र तिनले बबुरो ‘लोकतन्त्र’–को पक्षमा जति नै कोलाहल मच्चाए पनि आखिर तीन जना अधिनायकीय हुकुमी नेताको चोचोमोचो मिलेपछि कसैको केही नलाग्ने रहेछ !
राजामार्गीहरूले, झाडीमा ठोट्ने र बनमारा हलक्क भएर सप्रे झैं, सपारेका आन्दोलन नामे तुजुके अनुष्ठानमा राजा चिन्दै नचिनेका र बुझ्दै नबुझेका निरीह मान्छेलाई दुःख दिँदा समेत ती अबोध नागरिक केको पीडाले गानिएका थिए होलान् ? राजातन्त्र ब्यूँताउने आवश्यकता बुझेर हो कि आफू ढाँटिदा–ढाँटिदा जीवन–व्यवहार चौपट पारिइएको आक्रोश थियो त्यो ? आखिर त्यहाँ पनि ‘नेताका स्वार्थ बाझ्ने’ महारोगले छोडेन ! अहिले ‘जनता नेपाली’ आफ्ना मनोवैज्ञानिक पीडा बिसाउने कुनै ठाउँ नपाएर, शायद, बिलखबन्द हुनन् । यसो हुँदा अधिनाकवादी शासक बन्न रमाउने मालिक र तिनका कारिन्दाले जेठ ३० यता विजयोत्सव मनाइरहेका हुँदा हुन् । पराजितले विजयीलाई करैले पनि श्रेष्ठ ठान्नै पर्छ नै भन्ने त विश्वमान्य सत्य हो नै !
अतः यो वर्तमानमा सिङ्गो रूपमै खतुकी ठहर भइरहेका गृहमन्त्रीको राजीनामा नै ‘बटम लाइन’ भनेर ठूल्ठूलो ‘क्रान्ति’–को घार्ले खोकी खोक्तै, ‘जनता’–का घर–घरमा मासु–भात खाँदै, मधेशदेखि पहाडसम्म लावालस्कर लिएर हिँडेका माओवादीका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’–ले समेत सरकारका सामू घुँडा टेकेका छन् । त्यसो भए निरीह जनताले जीवन–व्यवहारमा बढ्दो ऐंठन सहनुपर्ने बाध्यताको ‘नियति’ सहनु त निर्विकल्प नै हुने भयो अब ! आफ्नो एउटा सहधर्मी–सहकर्मीलाई ज्यान–खुन मुद्दाबाट जोगाउने–चोख्याउने जस्तो उद्देश्यसँग ‘वाद’, ‘सिद्धान्त’ र ‘नैतिकता’–का व्यावहारिक परिभाषाको जिजीविषा नै तिलाञ्जलि दिने कामको यसपटक नाङ्गो प्रदर्शन भयो । र, यसले नेता कोही चोखा छैनन् भन्ने भाष्यलाई सचित्र प्रदर्शन गरेको छ ।
हुन त, सत्ताधारीको मियोमा पुगेकाहरूसँग टेढामेढा–अचाडू भइरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भ्रष्टाचारको अभियोग लगाएर आफ्नो समर्थनमा दाउने स्तरको ठेगान लाउन उनैले लामो समय हाँकेको पार्टीका वर्तमान ‘एकाधिपति’–कै निर्देशन कामयावी नजिक पुगेको छ । यो कुरो बुझेपछि ‘क्यान्टोन्मेन्ट घोटाला’–को देशव्यापी चर्चित भ्रष्टाचारको भूतले ‘प्रचण्ड’–लाई पनि, हिजो के गरिबिराएँ र के बोलिहिँडें भन्ने, बलजफ्ती बिर्सेर ‘त्वम्–शरणम्’ हुन परेको होला ।
‘जनता’ कित्ताका मान्छेको स्मरण साह्रै छोटो र कमजोर हुन्छ भनिन्छ । ‘जनता’ प्रत्येक नयाँ भाषण तत्काल सुनेर ताली पड्काउन मात्र जान्दछन्, तिनमा अस्तिको भाषणमा के भनिएको थियो र आज के भनिँदैछ भनी तुलना गरेर भाषकको नियत वा आभ्यन्तरिक विश्वसनीयतामाथि शंका गर्ने क्षमता हुँदैन । यस्तो जन–अनभिज्ञतामाथि घोडा चढेर ‘जन–अपेक्षित सुधार र समृद्धि’–को टुनामुने भाषण गाएर ‘राजनीतिक जिमीदारी’ हाँक्न, शताब्दियौंदेखिका पछौटे, निर्धा र अशिक्षित बाहुल्य नेपालमा सजिलै भएको होला । भाँडाकुटी खेल्ने उमेरका बालबालिका स्तरको मिलन र बिछोड त अहिलेको ‘लोकतन्त्र’–का सारथिहरूले नै अभ्यासमा राखेका जो छँदैछन् ! अर्थात् , मानों, मौजूदा ‘लोकतान्त्रिक गणतन्त्र’ उनीहरूको बपौती–जिमीदारी हो । मानों, वर्तमान गणतन्त्रको उपस्थापना नै, विशेषतः तीन बूढालाई, सत्रौं शताब्दीका सम्राटीय हैकम र सुखभोगका लागि हो ।
वर्तमान गृहमन्त्री रमेश लेखकको वास्तविक दोष के हो र उनी नैतिकताको तकाजामा सो पदबाट बर्खास्त हुनपर्छ भनेर हल्ला किन गरिँदैछ ?–भन्ने विषयहरूका अन्तर्य के–कति कारण बाहिर छरष्ट भए ? इत्यादिको फेहरिस्त यो कलमीले, कुनै आग्रह–पूर्वाग्रहवश, यहाँ उठाएको हुँदै होइन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृह मन्त्रालयका खास–खास सरकारी मान्छे र अपराधी बिचौलियाहरूको मिलिभगते सिण्डिकेट जो चल्दै आएको छ । तिनैको तजबीजमा नेपाली र इण्डियनहरूको विदेश निर्यात व्यापार हुँदै आएका र भइरहेका घटनाहरूको पर्दाफासपछि को कसरी नाङ्गियो भन्ने मूर्त तस्वीर काला अक्षरको चश्माबाट चेवा गर्ने चेष्टा गरिएको मात्र हो । र, ‘लोकतान्त्रिक गणतन्त्र’–माथि कसरी थिचोमिचो हुँदै रहेछ भन्ने वैयक्तिक हुटहुटी साम्य गराउन खोजिएको मात्र हो ।
यद्यपि, यो हावाहुरी गुज्रिरहेकै समयमा पनि ती तीन टाउकामा अंकित अनुहारहरू लबस्तरा नै देखिँदा छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ राज्यव्यवस्थाको हकमा तिनलाई रत्तिभर लाज–शरम भएको देखिइरहेको छैन ! अतः यो पछिल्लो दश–एघार महिनायता यस्ता सिलसिलाविहीन कच्याककुचुक यसै पनि कति असरल्ल छन् कति ! भनेर सक्नु, न गनेर सक्नु !... त्यसैले आजलाई, बस, यत्ति नै !...    

सम्बन्धित समाचार