२०८३ असार ३ गते , बुधबार
झापाको टिमाई खोलाबाट अवैध उत्खनन गर्ने ५ वटा ट्याक्टर नियन्त्रणमा
सरकारले प्रतिबन्ध लगाइएको खोलाबाट नदीजन्य वस्तु ओसारपसार गर्ने ५ वटा ट्याक्टर प्रहरीले नियन्त्रण लिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर –४ टिमाई खोलाबाट अवैध रुपमा ढुङ्गा ओसार पसार गर्दै गरेको अवस्थामा ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु मे. १ त. ५१३५,मे. १ त. ७३७२, मे. १ त. ७५४३,मे. १ त. ५४४६ र मे. १ त. २४६१ रहेका छन् ।
आज बिहान ११ बजेतिर टिमाई खोलाबाट अवैध रुपमा ढुङ्गा ओसारपसार गर्दै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बुद्धशान्ति गाउँपालिका कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पालिकाहरूले असार १ देखि भदौ अन्तिमसम्म खोलाहरूबाट नदीजन्य वस्तु उत्खनन गर्न प्रतिबन्ध लगाएका छन् ।