२०८३ असार ३ गते , बुधबार

बिपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक

sajilo news
रासस
२०८२ असार ७ गते , शनिबार
बिपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आजदेखि  १५ दिनका लागि रातिमा सडक सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राति ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म राजमार्ग हुँदै सिन्धुली, खुर्काेटबाट काठमाडौं जाने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोककाे काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ । 

गत साल असोजको बाढी पहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक खण्डमा भने  सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् । 

बाढी पहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । 

सम्बन्धित समाचार