किचकबध धार्मिक स्थलमा सेन्सर बत्ती जडान, बनाइयो झिलीमिली
भद्रपुर । महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीय स्थल झिलिमिली बनाइएको छ । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबधमा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा बिजुली बत्ती जडान गरी झिलिमिली बनाइएको हो ।
पर्यटकले दिनको समयमा मात्र अवलोकन गर्दै आइरहेको किचकबधमा अब रातको समयमा अवलोकन गर्न सकिने नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । किचकबधको प्रवर्द्धन तथा संरक्षणका लागि नगरपालिकाले निरन्तर सहयोग तथा पहल गरिरहेको उनको भनाई छ ।
नगरपालिकाको ५ लाख बजेटमा किचकबध परिसरमा चार ठाउँमा सेन्सर बत्ती जडान गरिएको छ । दुई वटा पोलमा चार चार वटा बत्ती, अर्को दुई वटा पोलमा दुई दुई वटा बत्ती जडान गरिएको भद्रपुर २ नम्बर वडा अध्यक्ष राम कँडेलले जानकारी दिए । बिजुली बत्ती जडान गरिएपछि बुधबार साँझ नगर प्रमुख पोखरेलसहितको टोलीले स्थलगत अवलोकन पनि गरेका थिए । ओझेलमा परेको किचकबधमा सूर्य अस्ताएपछि आफै बल्ने बिजुली बत्तीले थोरै भएपनि रौनक थपिएको स्थानीय बताउँछन् । यता किचकबध, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ मा तीन करोड रकम विनियोजन गरेको छ ।
विनियोजित रकमले किचकबधको मुहार फेरिनेमा आफू विश्वस्त रहेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले जानकारी दिए । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ।
सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो। प्रत्येक माघे शुल्क पूर्णिमा र स्वस्थानी व्रतका दिन किचकबधमा मेला समेत लाग्दै आएको छ ।