झापामा लागुऔषधविरुद्धको सन्देशसहित वक्तृत्वकला प्रतियोगिता हुने
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।
“लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” भन्ने शीर्षकमा आयोजना गरिने प्रतियोगिता कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीबीच हुने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा, शिक्षा विकास समन्वय इकाइको समन्वयमा तथा हिसान, प्याब्सन र एन-प्याब्सनको सहकार्यमा प्रतियोगिता बिर्तामोडस्थित न्यूटन स्कुलमा हुनेछ।
प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहबाट सिफारिस भएर आएका ३० जना विद्यार्थी सहभागी हुनेछन्। प्रत्येक स्थानीय तहबाट एक जना छात्रा र एक जना छात्र गरी दुई/दुई जनाको दरले सहभागिता सुनिश्चित गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीले नगद १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, दिने दुई जनालाई जनही १५०० रुपैयाँका दरले सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ।
प्रतियोगिताको पुरस्कार तथा अन्य व्यवस्थापन खर्च हिसान, प्याब्सन र एन-प्याब्सनले संयुक्त रूपमा व्यहोर्नेछन्।
आयोजकहरूले प्रतियोगितामार्फत युवा पुस्तामा लागुऔषधको असरबारे चेतना अभिवृद्धि गर्दै स्वस्थ र जिम्मेवार समाज निर्माणमा उनीहरूको भूमिका सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।