२०८३ असार ३ गते , बुधबार

झापामा मानव–हात्ती द्वन्द्व : बाहुनडाँगीको आंतक रोक्न सेना गुहारियो

sajilo news
झापा
२०८२ असार ३ गते , मंगलबार
झापामा मानव–हात्ती द्वन्द्व : बाहुनडाँगीको आंतक रोक्न सेना गुहारियो

झापा  ।  मानव–हात्ती द्वन्द्व समाधानका लागि जिल्ला प्रशासन कार्यालय झापाले चासो देखाएको छ । पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएका हात्तीले जनधनको क्षति गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले हात्ती नियन्त्रणका लागि पाँच बुँदे निर्णय गरेको हो । 

मंगलवार मेचीनगरमा मानव–हात्ती द्वन्द्व समाधानका लागि बसेको बैठकमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँ, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अरिमदन गण चारआलीका गणपति प्राजु बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू , सशस्त्र प्रहरी बल नेपाल २ नं. हेड क्वाटरका गणपति तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपनिर्देशक कुलचन्द्र नेपाल , डिभिजन वन कार्यालय झापा प्रमुख भरतबाबु श्रेष्ठ, एनटीएनसी कोशीका प्रमुख वीरेन्द्र गौतम सहभागी थिए । बैठकले हात्ती नियन्त्रणका लागि नेपाली सेनालाई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
हात्तीले दिनहुँ जसो बाहुनडाँगी क्षेत्रमा उपद्रो मच्चाउन थालेपछि मेचीनगर नगरपालिकाको आग्रहमा बैठक बसेको थियो । बैठकले अरिमदन गण चारआलीलाई सहयोग गर्न अनुरोधसहित विभिन्न निर्णयहरू गरेको हो ।
छलफलमा अरिमदन गण चारआलीका गणपति बस्नेतले निकुञ्जमा हात्ती धपाउन समस्या नरहेको बताए । उनले बाहुनडाँगी तथा झापा निकुञ्ज क्षेत्र नभएकोले के गर्न सकिन्छ आफू मातहतको माथिल्लो निकायलाई जानकारी गराउने बताए ।
बैठकले हात्तीलाई धपाउने क्रममा स्थानीयबाट होहल्ला गर्दा हात्ती उत्तेजित भई झन् धेरै क्षति गर्ने भएकाले हात्ती मानव द्वन्द्व कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरूको संलग्नतामा हात्ती मानव द्वन्द्व न्यूनीकरण गर्न पहल गर्ने निर्णय भएको छ । त्यस्तै तत्काल आवश्यक पर्ने इन्धन, टर्च लाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय झापाले उपलब्ध गराउने र नपुग भएमा मेचीनगर नगरपालिकाले सहयोग निर्णय भएको हो ।

यसैगरी दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेंसिंग, बत्ती प्रबन्ध, सडक मर्मत, तटबन्ध र जनचेतना जगाउन जरुरी हुने भएकाले फेंसिंगका लागि के कति बजेट आवश्यक हुन्छ डिभिजन बन कार्यालय झापाले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च समेतसँग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने निर्णय भएको हो ।

नपुग बजेटका लागि मेचीनगर नगरपालिका लगायतका निकायसँग समन्वय गर्ने तथा एनटिएनसीले समेत उक्त विषयलाई गम्भीरतापूर्वक लिई फेंसिंग र जनचेतनामूलक कार्यक्रमलाई बजेट प्रबन्ध गर्ने निर्णय भएको बताइएको छ । ठूलो मात्रामा हात्ती आइरहने क्रम रहिरहेमा नेपाली सेनाले गर्न सक्ने सहयोगको बारेमा अरिदमन गणका गणपतिज्यूलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने निर्णय भएको हो ।
त्यस्तै ठाउँ-ठाउँमा तटबन्ध निर्माणबाट पनि हात्ती प्रवेशमा न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले जनताको तटबन्ध कार्यालयलाई तटबन्धको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने निर्णय भएको छ । यसै गरी दीर्घकालीन समस्या समाधानका लागि आवश्यक बजेट प्रबन्ध गरिदिन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत अनुरोध गर्ने , यस कार्यका लागि सम्बन्धित क्षेत्रबाट संघीय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदलाई पहलकदमीका लागि अनुरोध निर्णय भएको हो ।
कार्यक्रमको सहजीकरण झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले गरेका थिए । कार्यक्रममा मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, २ का वडाध्यक्ष दीपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षक मञ्च कार्यबहाक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती लगायतले हात्तीका समस्या, उपाय र समाधानका बारेमा बताएका थिए ।

सम्बन्धित समाचार