कचनकवलका गङ्गाबहादुर राई झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता
नवीन उप्रेती । कचनकवल
आँखा नदेख्ने तर दृष्टि भएका मान्छे विरलै भेटिन्छन्। कचनकवल गाउँपालिका–२ का गङ्गाबहादुर राई त्यही समूहमा पर्छन्। अहिले उनी कचनकवल गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन भइरहेको आठ दिवसीय सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालिमका आकर्षण बनेका छन् । उनी उत्साह, आत्मविश्वास र सक्रियताको कारण।
पूर्ण दृष्टिविहीन गङ्गाबहादुर तालिममा सहभागी भएका एक मात्र अपाङ्ग व्यक्ति हुन्। तर, कक्षाभित्र उनी सबैभन्दा जिज्ञासु र सबैभन्दा प्रेरणादायी अनुहार झैँ देखिन्छन्। उनका प्रत्येक भनाइ, हिँडाइ र सहभागिताको भावनामा एउटा गहिरो आत्मबल झल्किन्छ।
“म सायद झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने यात्रामा छु,” उनले भने, “यो मेरो लागि जिम्मेवारी हो, सौभाग्य हो, अनि समाजप्रति योगदान गर्ने सुनौलो अवसर पनि।” गङ्गाबहादुरले मेची क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरिसकेका छन्। तालिममा बोल्ने हरेक शब्दले प्रस्ट हुन्छ उनी कानुनप्रतिको समझदारी मात्र होइन, मेलमिलापप्रति गहिरो समर्पण लिएर आएका छन्। “मलाई गाउँपालिकाले यति ठुलो विश्वास राखिएकोमा गर्व लाग्छ,” उनले थपे, “दृष्टिविहीन भएर पनि यस्तो जिम्मेवारी पाउनु आफूलाई भाग्यमानी ठान्छु।”
तालिमका प्रशिक्षक चेतन विष्ट पनि राईको प्रशंसामा कुनै कसर बाँकी राख्दैनन्। “उनको सहभागिता वास्तवमै उदाहरणीय छ। शारीरिक बनावट फरक हुनुले केही फरक पर्दैन भन्ने प्रमाण उहाँले दिनुभएको छ,” विष्टले भने, “समावेशिताको दृष्टिकोणले हेर्दा पनि उहाँको उपस्थिति गहिरो अर्थ राख्छ।” कचनकवल गाउँपालिकाले गङ्गाबहादुरको सहभागितामार्फत समाजमा अपाङ्गता भएका व्यक्तिहरूको सम्भावनालाई देखाएको छ। दया होइन, अवसर चाहिन्छ भन्ने कुरा बोलेको छ। यो तालिम गङ्गाबहादुरका लागि केवल तालिम होइन, समाजलाई देखाउने दर्पण हो, जहाँ अपाङ्गता भन्दा माथि उठेर योगदान गर्न सकिन्छ। गङ्गाबहादुर एक दृष्टान्त हुन्। सपना देख्न आँखाको हैन, आत्माको जरुरत पर्छ। र आज उनी झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने बाटोमा दृढ आत्मबलका साथ अघि बढिरहेका छन्।