भद्रपुरमा एकै पटक दुईवटा बाल संस्कार केन्द्रको उद्घाटन
भद्रपुर । जनकल्याण प्रतिष्ठान भद्रपुर नगर समितिको एकल विद्यालय अभियान अन्तर्गत एकै पटक दुईवटा बाल संस्कार केन्द्रको उद्घाटन गरिएको छ ।
नगरपालिकाभित्र १० वटा बाल संस्कार केन्द्र स्थापना गर्ने क्रममा शनिबार भद्रपुर १० अन्तरगत महिला जागरण केन्द्र छाता चोकपश्चिम र दुर्गा पाञ्चायन मन्दिर धनषमोडको सभा हलमा छैठौ र सातौँ केन्द्रको उद्घाटन गरिएको हो । प्रतिष्ठाका कोशी प्रदेश सदस्य ईश्वर पोखरेलको अगुवाइमा भएको कार्यक्रममा केन्द्रको
उद्घाटन भद्रपुर प्रमुख गणेश पोखरेलले गरेका हुन् । हिन्दु परम्पराको जगेर्ना गर्दै बालबालिकालाई आचरण शिक्षा प्रदान गर्ने उद्देश्य र लक्षयका साथ स्थापना गरिएको केन्द्रमा प्रत्येक हप्ताको एक दिन शनिबार उचित प्रकारको हिन्दु विधि अन्तरगतको शिक्षा बालबालिकालाई दिइने जनाइएको छ । बालबालिका गलत सङ्गत र दुर्व्यसनमा नपरून् र हिन्दु संस्कार र संस्कृतिको जगेर्ना गर्न सकुन् भन्ने अभिप्राय रहेको छ ।
नगर प्रमुख पोखरेल, प्रतिष्ठा कोशी प्रदेश सदस्य ईश्वर पोखरेल, विश्व हिन्दु परिषद्का नितेश कुमार लगायतले मन्तव्य राखेका थिए । वडा नम्बर १० का वडा सदस्य सङ्गीता कोइराला को अध्यक्षतामा सम्पन्न महिला जागरण केन्द्रमा सम्पन्न कार्यक्रमको स्वागत जागरण केन्द्रकी अध्यक्ष शकुन्तला पोखरेल र सञ्चालन पत्रकार राजु बरालले गरेका थिए ।