दिल्लीको तापमान ५० डिग्री सेल्सियस, गर्मीले जनजीवन प्रभावित
भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मीले मानिसहरूको जनजीवन प्रभावित भएको छ। पछिल्लो केही दिनदेखि दिल्लीमा अधिकतम तापक्रम ४० डिग्री पुगेपछि लू चल्दा मानिसहरूलाई हिँडडुल गर्नसमेत समस्या भइरहेको हो।
आपदा प्रबन्धन प्राधिकरणले पछिल्लो केही दिनदेखि सर्वसाधारणको मोबाइलमा सन्देश पठाएर भारतीय मौसम विभागले पूरै दिल्लीमा “लू” को रेड अलर्ट जारी गरेकाले आफूलाई हाइड्रेट राख्न, चिसो राख्न र घामबाट बच्न परामर्श जारी गरिरहेको छ।
विशेष गरी फिल्डको काम गर्ने मानिस गर्मीबाट बढी प्रभावित भएका छन् भने बिहान र बेलुका कार्यालय जाने सर्वसाधारणले समेत समस्या झेलिरहेका छन्। तापमान ४०-४२ डिग्री सेल्सियस पुगेको भए पनि कतिपयले भने तापमान ५० डिग्री सेल्सियस नाघेको गर्मी अनुभव गरिरहेका छन्। कतिपय दिल्लीवासीले पंखा र कुलरले कामै नगरेको अनुभव सुनाएका छन्।
गर्मीका कारण मानिसहरू बाहिर निस्कनबाट बच्ने प्रयास गरिरहेका छन् भने बाहिर निस्कनै परे मेट्रो रेलको प्रयोग बढी गरिरहेका छन्। रातको समयमा पनि गर्मीबाट राहत नभइरहेको सर्वसाधारणहरूको भनाई छ।
आज दिल्लीमा अधिकतम तापमान ४० डिग्री सेल्सियल्स रहने अनुमान गरिएको छ भने भारतीय मौसम विभागले आज दिल्लीमा सामान्य पानी पर्नसक्ने पूर्वानुमान गरेको छ।