२०८३ असार ३ गते , बुधबार

सशस्त्र द्वन्द्वमा मुस्किलले बाँचेका सशस्त्रका सई मोटरसाइकल दुर्घटनामा परी अस्ताए

sajilo news
झापा
२०८२ जेष्ठ २५ गते , आईतबार
सशस्त्र द्वन्द्वमा मुस्किलले बाँचेका सशस्त्रका सई मोटरसाइकल दुर्घटनामा परी अस्ताए

माओवादी सशस्त्र द्वन्द्वमा मुस्किलले बाँचेका मोरङ कानेपोखरी गाउँपालिका– ४ बयरवन घर भएका सशस्त्र प्रहरी नायव निरीक्षक पूरणलाल राजवंशीको अनिवार्य अवकाश हुन ३ वर्ष मात्र बाँकी थियो ।

करिब २७ वर्षसम्म प्रहरी विभागमा सेवारत रहँदा उनी आफ्नो जिम्मेवारीसँगै घरको कामकाजमा समेत दत्तचित्त भएर खटिन्थे । उनको घरमा ग्वाली बनाउनु पर्ने आवश्यकता थियो । उनी ग्वाली बनाउनै घर बिदामा गएका थिए । जेठ १२ गते घर बिदामा गएका उनलाई ग्वाली बनाउने काम नसके पनि बिदा सकिएकाले हिजो साँझ डिउटीमा फर्किनु पर्‍यो ।

इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत राजवंशीले ब्यारेक फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाए । हिजो साँझ ७.५५ बजे कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा उनी चढेको प्र.१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएको थियो । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

खड्गनारायण राजवंशी र जुरासी राजवंशीका कान्छा छोरा पूरणलाल जनपद प्रहरीमा सिपाहीमा प्रवेश गरेका थिए । पछि उनी सशस्त्र प्रहरीमा आएका थिए । इमानदार र मिलनसार स्वभावका राजवंशीको मृत्युले उनको परिवार , बयरबनबासी र सिङ्गो ब्यारेक स्तब्ध भएको छ । आफूहरूले एक कर्मशील र इमानदार प्रहरी गुमाएको बीओपी समालबुङ पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सागर प्रधानले बताए ।

राजवंशीका श्रीमती पारो राजवंशी , एसइई दिएकी एक छोरी र कक्षा ९ मा अध्ययनरत एक छोरा रहेका छन् । आफ्नो घरपरिवार र समाजका लागि सधैँ मरिमेट्ने व्यक्तिलाई गुमाउनु पर्दा अत्यन्त दुःख लागेको आफन्त सुवास राजवंशीले बताए ।

 

सम्बन्धित समाचार