२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा भुस्याहा कुकुरको आतङ्क : घरपालुवा जनावर मार्न थाले, राति सडकमा हिँड्नै अवस्था छैन

sajilo news
झापा
२०८२ जेष्ठ २५ गते , आईतबार
भद्रपुरमा भुस्याहा कुकुरको आतङ्क : घरपालुवा जनावर मार्न थाले, राति सडकमा हिँड्नै अवस्था छैन

झापाको सदरमुकाम भद्रपुरमा भुस्याहा कुकुरको आतङ्क स्थानीय आजित बनेका छन् । पछिल्लो समयमा भुस्याहा कुकुरले घरपालुवा खसी,बाख्रा र कुखुराहरू मार्ने र खाने गरेर किसानलाई क्षति पुर्याउँदैै आइरहेको छ, भने राती सडकमा एक्लै हिनडुल गर्ने अवस्थामा पनि नरहेको स्थानीय बताउँछन् ।  स्थानीयले नै संरक्षण गरेका तर व्यवस्थित ढङ्गले तिनको व्यवस्थापन नगरिएका छाडा कुकुरहरूले बाँधेका खसी बाख्रा र कुखुराहरूलाई टोक्ने, मार्ने र खाने गरेको स्थानीय बताउँछन् । भद्रपुर ८ स्वर्ण टोल निवासी मित्रप्रसाद अधिकारीको बाख्रालाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको छ।

बारीमा बाँधेको बाख्रालाई छाडा भुस्याहा कुकुरले टोकेर मार्नै लागेको बेला देखेर मर्नबाट बचायौँ तर भुँडी फुटाइ सकेको अवस्थामा भेटेको अधिकारीले बताए ।  उनका अनुसार गाउँ टोलमा ७ देखि ८ वटा खसी बाख्रा भुस्याहा कुकुरले मारिसकेको छ ।

भुस्याहा कुकुरको बिगबिगी स्वर्ण टोलमा मात्र होइन त्यस वरपरका कनकश्री टोल, पारिजात टोल, सुकीर्ति टोलमा पनि त्यतिकै छ । कुकुरहरू पाल्ने तर तिनलाई छाडा छोड्‌नाले खसी बाख्रा र पाठा कुखुरा मात्र होइन मानिसहरूलाई पनि टोकेर हैरान पारेको छ। छाडा र भुस्याहा कुकुरले टोकेपछि अनाहकमा रेबिजको सुई लगाउनु पर्ने बाध्यता समेत बढेको छ । यस्तो पीडा बेहोरेका सुकीर्ति टोलका स्थानीय एक पीडितले भने, 'कुकुर पाल्नेले व्यवस्थित ढङ्गले पाल्नु पर्छ, होइन भने छाडा कुकुरलाई नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ।'

कुकुरले बाख्रालाई टोकेर घाइते बनाए लगत्तै उपचार पछि मुस्किलले बाख्राको ज्यान बचाएका अधिकारीले नगरप्रमुख समक्ष पनि भुस्याहा कुकुरको आतङ्कका बारेमा जानकारी गराएका छन् । त्यति मात्र नभएर भुस्याहा कुकुरले नगर क्षेत्रमा दुर्घटना हुने सम्भावना पनि बढेको छ । राती १० बजेपछि कुनै काम विशेषले मोटरसाइकल, साइकल वा पैदल हिनडुल गर्ने अवस्था नै नरहेको स्थानीयको गुनासो छ । स्थानीय भन्छन्, 'राती सडकका चोक-चोक हुल बाँधेर भुस्याहा कुकुर बस्छ, मान्छे देख्ने बित्तिकै झम्टिन खोज्छ, यसको नियन्त्रण तत्काल नभएको नगरमा दुर्घटना बढ्छ ।' 

सम्बन्धित समाचार