२०८२ मंसीर १२ गते , शुक्रबार

घरजग्गा कारोबारमा थप कडाइ

sajilo news
पत्रपत्रिका
२०८२ जेष्ठ २२ गते , विहीबार
घरजग्गा कारोबारमा थप कडाइ

सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने व्यवस्थाका साथ घरजग्गा कारोबारलाई थप कडाइ गरेको छ । सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ)को ‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न घर–जग्गा कारोबारमा थप कडाइ गरेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमिसुधार तथा मालपोत कार्यालयलाई १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गाको कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याउने कडा नियम जारी गरेको हो ।

बैंकिङ प्रणालीसहित केवाईसी फाराम पेस गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्नका लागि हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशनअनुसार १० लाखभन्दा माथिको कारोबार बैंक वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ भने सोही रकमसम्मको कारोबारको रजिस्ट्रेसन दस्तुर बैंकमार्फत जम्मा गर्नुपर्नेछ ।

निर्देशनअनुसार घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबारबराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ ।

घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा १० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणालीमार्फत लेनदेन भएको विवरण वैनाबट्टाको कागजसाथ पेस गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

घरजग्गाको खरिद बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एकपटक वा पटकपटक गरी ३ करोड वा सोभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गर्दा कार्यालयले सोको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ ।

घरजग्गा खरिद वा बिक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सोको जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यस निर्देशनको पालना भए नभएको अनुगमन गरी निर्देशनविपरीत भएको पाइएमा ऐन र नियमावलीबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ ।

एक व्यक्तिले दिनमा ३ करोडभन्दा बढी कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ । बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्ने घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर, ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्नेछ ।

आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा शिथिलता जारी रहेका बेला विभागले आतंकवादी तथा गैरकानुनी लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को प्रावधानलाई कार्यान्वयनमा ल्याउन घरजग्गा कारोबारमाथि थप कडाइ गरिएको हो । राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार