झापामा मृग र इलाममा चितुवा मृत फेला
झापाको बाह्रदशीमा मृग मृत फेला परेको छ । बाह्रदशी गाउँपालिका-४ मेचे टोलस्थित घाग्रा खोला छेउ .बस्ने मदनकुमार न्यौपानेको टिकको बिरुवा रोपेको जग्गामा मृग मृत फेला परेको हो । अन्दाजी २–३ दिन अगाडी मरेको हुनसक्ने मृत मृग स्थानीयले आज मध्यान्ह फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी फुलवारिबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जलथल सब डिभिजन वन कार्यालयबाट गएको टोलीले मुचुल्का गरी सोही स्थानमा खाल्डो खनेर सदगद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता इलाममा अर्को चितुवा मृत फेला परेको छ । आज बिहान ८ः२० बजे इलाम सूर्योदय नगरपालिका– ४ गिरीगाउँस्थित कैलाश गिरीको घरदेखि अन्दाजी २०० मिटर टाढा चियाबारीको खोल्सीमा चितुवा मृत फेला परेको हो । यसअघि गत शनिवार इलामको सूर्योदय नगरपालिका –५ मा जङ्गली चितुवा मृत भेटिएको थियो । सूर्योदय –५ बस्ने ३६ वर्षीया कमला गिरीले घाँस काट्दै गर्दा बाङ्गे खोलाको खोल्सीमा सड्न लागेको जङ्गली चितुवा मृत अवस्थामा भेटेकी थिइन् ।