बाढीले हाइड्रोपावर बगाउँदा २५० परिवार अन्धकारमा
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले हाइड्रोपावर बगाउँदा विद्युत सेवा अवरुद्ध भएको छ। भोटखोला–३ मा दुईवटा हाइड्रोपावर बगाउँदा २५० घरपरिवार अन्धकारमा बस्न बाध्य छन्।
गतरातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ मा रहेको १२० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँ अन्धकार भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए।
शनिबार राति वर्षासँगै आएको बाढीले हुङगुङ जलविद्युत् आयोजना र क्षुक्सुम लघुजलविद्युत् आयोजनाको पावर हाउस र विद्युत् उत्पादन गर्ने सामग्री क्षति पुर्याउँदा गाउँ अन्धकार भएको अध्यक्ष भोटेले बताए। बाढीले हाइड्रोपावर बगाउँदा करोडौँको क्षति भएको छ।
बाढीका कारण ध्वस्त भएको पावर हाउस बनाउन र पुनः विद्युत् सञ्चालन गराउन क्षतिको विवरण संकलन थालिएको छ।
त्यसैगरी बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक खण्डको हटिया र हुङहुङ सडक बगाएको छ। बाढी खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ। बाढीले खाँदबारी –किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ।