२०८३ असार ३ गते , बुधबार

एक सातासम्म मनसुन निष्क्रिय, गर्मी बढ्ने

sajilo news
रासस
२०८२ जेष्ठ १८ गते , आईतबार
एक सातासम्म मनसुन निष्क्रिय, गर्मी बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ । 

बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा  विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । 

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए । “नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मै नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको हो, बाँकी भू–भागमा मनसुन भित्रिन बाँकी छ । अब साता दिनसम्म मनसुन निष्क्रिय हुने देखिएको छ”, उनले भने,“मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाका कारण असर पनि पुर्‍याएको छ ।”

विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गरे । 

सम्बन्धित समाचार