आज पनि कोशी प्रदेशमा पानी पर्ने
मनसुनी वायुको प्रभाव रहेको कोशी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षा हुने भएको छ। अस्ति र हिजो भारी वर्षा भएर जनजिवन प्रभावित बनेको प्रदेशमा आज मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका भूभागहरुमा अहिले बिहान हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो।
मनसुनी वायु पश्चिमी भूभागसम्म फैलिन एक हप्ताभन्दा बढि समय लाग्ने पनि उहाँले बताउनुभयो। आज दिउँसो मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।