नेपालमा १३ दिनअगावै भित्रँदै मनसुन
यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ। प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाए सँगै नेपालमा छिट्टै
मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यूनचापीय प्रणालीको प्रवेश भइसकेको तथा बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ तारिख हो।
भूउपग्रह, वायुमण्डलीय र मौसम मोडेलबाट प्राप्त सूचना अनुसार पनि अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने तय रहेको महाशाखाले प्रस्ट पारेको छ। मनसुनको सुरुवातको सङ्केत गर्दै आज रातिदेखि नै नेपालका विभिन्न भू–भागमा बदलीसँगै राम्रो वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।
यस वर्षको मनसुनमा देशव्यापी रूपमा विगतको भन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ। सरकारका तर्फबाट राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ ले देशभरका चार लाख ५७ हजार घरपरिवारका करिब २० लाख मानिस बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतबाट प्रभावित हुने प्रक्षेपण गरेको हो।
बुधबार बसेको विपत्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको छ। उपत्यकाबाट पानी बाहिरिने एक मात्र बाटो चोभार गल्छी साँघुरो हुँदा गत वर्ष काठमाडौँ उपत्यकामा ठुलो क्षति भएको थियो। मुख्यतः नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भू–भाग डुबानमा परेका थिए। त्यहाँ फेरि क्षति हुन नदिन चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। यस्तै मौसमी प्रक्षेपणलाई हल्का रूपमा लिएर जिउज्यान जोखिममा नपार्न पनि प्राधिकरणले आम नागरिकलाई आग्रह गरेको छ।