नेपालमा हिन्दु धर्म मान्नेहरू ८१.२ प्रतिशत
नेपालमा हिन्दु धर्म मान्नेहरू कुल जनसंख्याको ८१ दशमलव २ प्रतिशत रहेको एक तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले २०७८ को जनगणनाअनुसार नेपालमा हिन्दु धर्म मान्नेहरू कुल जनसंख्याको ८१ दशमलव २ प्रतिशत रहेको देखाएको हो।
संख्याका आधारमा बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन्। यस्तै, नेपालमा ३ दशमलव २ प्रतिशत जनसंख्याले किराँत धर्म, १ दशमलव ८ प्रतिशतले इसाई र ० दशमलव ३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेको कार्यालयका निर्देशक विनोदशरण आचार्य बताए ।
उनले २०४८ देखि २०७८ को जनगणना अवधिमा हिन्दु धर्म मान्ने जनसंख्याको प्रतिशतमा गिरावट आएको बताए। तर २०५८ को तुलनामा २०६८ को जनगणनाका बीचमा थोरै वृद्धि भएको देखिएको छ।