२०८३ असार ३ गते , बुधबार

देउनियाँ खोलाको भेलागुडीमा बिश्रान्ती घाट निर्माण शुरु

sajilo news
झापा
२०८२ जेष्ठ १० गते , शनिबार
देउनियाँ खोलाको भेलागुडीमा बिश्रान्ती घाट निर्माण शुरु

बिर्तामोड । भेलागुडीलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यसहित झापाको बिर्तामोड– ८ स्थित देउनियाँ खोलामा विश्रान्ति घाट निर्माण सुरु गरिएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी , सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आज एक कार्यक्रमका बीच विश्रान्ति घाटको शिलान्यास गरेका छन् ।

डीपीआर तयार गरी करिब दुई करोड रुपैयाँको लागतमा विश्रान्ति घाट , स्नान घर , मलामी घर , बगैँचालगायतका संरचनासहित धार्मिक एवं पर्यटकीय स्थल निर्माण गरिने बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले प्रदेश सरकार ,स्थानीय सरकार र विभिन्न दाताहरूको सहयोगमा बिर्तामोड ८ स्थित भेलागुडी जङ्गललाई पूर्वकै धार्मिक एवं पर्यटकीय गन्तव्य निर्माण गरिने जानकारी दिए ।

विश्रान्ति घाटको शिलान्यास गर्दै मन्त्री कार्कीले डीपीआर तयार गरी व्यवस्थित घाट निर्माण गरिनुपर्नेमा जोड दिँदै प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले प्रदेश सरकारको बजेट बैङ्कमा सो योजना पार्ने बताउँदै योजनालाई क्रमागत रुपमा बजेट पारेर भएपनि पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए । कार्यक्रममा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले पनि नीति नियमले मिलेसम्म आफ्नो पालिकाका तर्फबाट सहयोग गर्ने आश्वासन दिए ।

शिलान्यास कार्यक्रममै वडाध्यक्ष अजय कार्की र उनका श्रीमती कल्पना कार्कीले घाट निर्माणका लागि १लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले धार्मिक एवं पर्यटकीय स्थललाई साकार पार्न सफल योजनाकारको जरुरी भएको बताए ।

विश्रान्ति घाट निर्माण समितिका अध्यक्ष शम्शेरबहादुर विष्टको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की , विशिष्ट अतिथिहरू हल्दिवारी अध्यक्ष लिङ्देन , मेची आँखा अस्पतालका अध्यक्ष गुरुङ, समाजसेवी वेदप्रकाश अग्रवाल , पुराण आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीलगायतले बोलेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्की , भद्रपुर ७ का वडाध्यक्ष अभिशेख ढुङ्गाना , बिर्तामोड ८ का वडा सदस्यहरू इन्दिरा पाण्डे , सोयालाल राजवंशी , लक्ष्मी नेपाली , समाजसेवी हरि पाण्डे , रणबहादुर मगरलगायतको उपस्थिति रहेको थियो । विश्रान्ति घाट निर्माण समितिका उपाध्यक्ष देवराज उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मदनकुमार अधिकारीले गरेका थिए ।

विश्रान्ति घाट निर्माणकै लागि गत बैशाख ६ देखि बैशाख १३ गतेसम्म पुराण सञ्चालन गरिएको थियो । जसबाट १७ लाखभन्दा बढी रकम सङ्कलन भएको थियो । पुराणबाट खर्च कटाएर ९ लाख ६९ हजार ८५८ रुपैयाँ बचत भएको थियो ।

विश्रान्ति घाट निर्माण गर्न केही दिनअघि शम्शेरबहादुर विष्टको अध्यक्षतामा निर्माण समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवराज उप्रेती , सचिव मदनकुमार अधिकारी , सहसचिव भूपाल अधिकारी र कोषाध्यक्ष कल्पना बराल रहेका छन् । त्यस्तै सदस्यहरूमा हेमराज भट्टराई , सीता पाण्डे प्रसाईँ , विनोद खरेल , सूर्यबहादुर विष्ट , केशव घिमिरे , गजेन्द्र शेर्पा , कमल मगर (डेनी सञ्चार) , कालीप्रसाद राजवंशी , बद्री प्याकुरेल र इन्द्रसिंह राजवंशी रहेका छन् ।

त्यस्तै डम्बरप्रसाद तिम्सिनाको संयोजकत्वमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ । जसको सदस्यहरूमा हरि पाण्डे , हरिप्रसाद गौतम , पुण्य लम्साल , बाबुराम पराजुली , गोविन्द पाठक , एकराज विष्ट , नवराज खतिवडा , शान्तिराम निरौला ,मनोज दाहाल , फुनिनाथ दुलाल ,गुणराज भण्डारी ,अनिल गौतम ,कुमार दर्नाल , सोयालाल राजवंशी ,रुद्र बराल र प्रेमप्रसाद गौतम रहेका छन् ।

सम्बन्धित समाचार