मलेसियामा अवैध आप्रवासीले ५ सय रिंगेट जरिमाना तिरेर फर्कन पाउने
काठमाडौं । मलेसियाले अवैध रूपमा बसेका आप्रवासी कामदारलाई लक्षित गर्दै स्वदेश फिर्ती कार्यक्रम ल्याएको छ । त्यहाँको सरकारले प्रायद्वीपीय मलेसिया र लाबुआनमा कागजात नभएका आप्रवासीहरूका लागि आप्रवासी स्वदेश फिर्ती कार्यक्रम पीआरएम २.० सोमबारदेखि सुरु गरेको हो । यो कार्यक्रम ३० अप्रिल २०२६ सम्मलाई विस्तार गरिएको छ ।
मलेसियाको गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलका अनुसार, महान्यायाधिवक्ताको चेम्बरलगायत सम्बन्धित नियामक निकायहरूद्वारा अनुमोदित यस निर्णयले कागजात नभएका आप्रवासीलाई कानुनी कारबाहीको सामना नगरी स्वेच्छाले आफ्नो देश फर्कन मद्दत मिल्नेछ ।
‘यो अध्यागमन विभागले कालोसूचीमा राखेका, पक्राउ वारेन्ट भएका वा अधिकारीहरूले खोजेका व्यक्तिहरूलाई पनि उपलब्ध छैन,’ गृहमन्त्री इस्माइलले भने, ‘कार्यक्रम पीआरएम २.० को लागि योग्य हुनेहरूलाई मुद्दा चलाइनेछैन तर उनीहरूको अपराधको प्रकृतिका आधारमा चक्रवृद्धि जरिमाना तिर्नुपर्नेछ ।’
उनका अनुसार पीआरएम २.० अन्तर्गत वैध पासबिना मलेसियामा प्रवेश गर्ने वा बस्ने व्यक्तिहरूका साथै अनुमति दिइएको अवधिभन्दा बढी बस्नेहरूलाई ५ सय मलेसियन रिंगेट चक्रीय जरिमाना तिर्नुपर्नेछ । पास सर्तहरूको उल्लंघनका लागि ३ सय रिंगेट चक्रीय जरिमाना तिरेर स्वदेश फर्कन सक्नेछन् । आवेदकहरूले प्रत्येक विशेष पास जारीका लागि २० रिंगेट तिर्नुपर्नेछ ।
‘१८ वर्षमुनिका विदेशी बालबालिकाहरू जो वैध पासबिना मलेसियामा धेरै समय बसेका छन् वा ल्याइएको छ, तिनीहरूलाई चक्रीय जरिमानाबाट छुट दिइनेछ तर विशेष पासका लागि २० रिंगेट शुल्क तिर्नुपर्नेछ,’ उनले थपे ।
मन्त्रालयले विदेशी प्रतिनिधिहरू, रोजगारदाताहरू र आप्रवासी समुदायहरूलगायत सबै पक्षलाई यो जानकारी फैलाउन, तोकिएको समयसीमाभित्रै स्वदेश फर्कन र भिडभाडबाट बच्न प्रारम्भिक सहभागितालाई प्रोत्साहित गर्न आग्रह गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।