दमक भ्युटावर सञ्चालन अझै अन्योल, सञ्चालनको जिम्मा पाएको समिति नै विवादमा
दमक । पाँच महिनाअघि प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको झापाको दमकस्थित भ्युटावर अझै सञ्चालनमा आउन सकेको छैन । भ्युटावर सञ्चालनका लागि विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समितिलाई जिम्मा दिने भनिए पनि समिति नै विवादमा परेपछि भ्युटावर सञ्चालनमा अन्योल भएको हो । दमक नगरपालिका– ३ स्थित दाँपगाछीमा निर्माण भएको १८ तले भ्युटावार निर्माणमा डेढ अर्बभन्दा बढी लागत भएको छ ।
विगतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन गर्दै आएको समितिलाई हटाएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित दमकको भ्युटावरलगायत केही विशिष्ट संरचना हेर्ने गरी सरकारले बनाएको विशिष्ट संरचना तथा व्यवस्थापन समितिविरुद्ध अदालतमा मुद्दा विचाराधीन हुँदा यसको असर दमकको भ्युटावर सञ्चालनमा समेत देखिएको छ ।
सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राई कार्यरत रहेकोमा सरकारले गत २३ पुसमा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको थियो । राई सरकारको निर्णयविरुद्ध उच्च अदालत पाटन गएका छन् । चार वर्षका लागि नियुक्त भएका राईलाई अदालतले स्वतः पदमुक्त गर्न नमिल्ने भन्दै नहटाउन अन्तरिम आदेश दिएको थियो ।
तर, यो समितिलाई भ्युटावर बुझाउने कि नबुझाउने भन्ने अन्योल भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख रमेश थिङले बताए । ‘अदालतमा मुद्दा विचाराधीन छ । तसर्थ, हामीले कसलाई बिजनेस कम्प्लेक्स हस्तान्तरण गर्ने भन्ने अन्योल छ,’ उनले भने, ‘यहीकारण पनि बिजनेस टावर सञ्चालनमा अन्योल छ । अदालतमा मुद्दा टुंगिएदेखि हामी भ्युटावर हस्तान्तरण गरिहाल्छौँ । अहिले हामी कसलाई बुझाउने भन्ने दोधारमा छौँ ।’
भ्युटावर सञ्चालनमा नआउँदा भ्रमणमा आएका सर्वसाधारण चढ्न नपाई बाहिरैबाटै फर्कने गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईले अदालतको आदेशपछि विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको हैसियतमा आफैँले काम गरिरहेको बताए । उनले भ्युटावर औपचारिक रूपमा समितिलाई हस्तान्तरण भइनसकेको बताए । नयाँ पत्रिकामा खबर छ ।