दुर्घटना न्यूनीकरण गर्न बन्दै छ सडक सुरक्षा नीति
सरकारले सडक दुर्घटनामा परेकाको उपचार राज्य कोषबाटै हुने गरी राष्ट्रिय सडक सुरक्षा नीति ल्याउन लागेको छ । सडक यातायात दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ल्याउन लागिएको सो नीतिको मसौदा तयार भइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा सडक सुरक्षा परिषद्का सदस्यसचिव कृष्णराज पन्तले मन्त्रालयबाट नीतिको मसौदालाई अन्तिम रूप दिइसकेको जानकारी दिए । “मसौदा तयार भइसकेको छ । मन्त्रालयले सरोकारवाला विभिन्न निकाय र व्यक्तिसँग छलफल गरिरहेको छ । राय सुझाव तथा प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालय पठाउने तयारी भइरहेको छ,” उनले भने, “मन्त्रालयहरूबाट राय सुझावसहित आइसकेपछि अन्तिम स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिने छ ।”
सडक यातायात दुर्घटना न्यूनीकरण तथा सडक दुर्घटनाबाट हुने मृत्युदर घटाउने मुख्य उद्देश्यसहित नीति निर्माण गर्न लागिएको बताउँदै सहसचिव पन्तले भने, “यस क्षेत्रमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, यातायात तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरीलगायत प्रदेश सरकारले समेत काम गरे पनि आशातीत लक्ष्य प्राप्त हुन नसक्दा एकीकृत रूपमा काम गर्न यो नीति निर्माण गर्न लागिएको हो ।”
त्यसै गरी सडक सुरक्षाको क्षेत्रमा काम गर्दै आएका मन्त्रालय तथा निकायलाई समन्वय गर्ने तथा राष्ट्रिय सडक सुरक्षा परिषद्लाई थप सशक्त र प्रभावकारी बनाउनका लागि समेत यो नीति निर्माण गर्न लागिएको हो । यो नीति कार्यान्वयनमा आइसकेपछि राष्ट्रिय सडक सुरक्षा परिषद् कानुनी र आर्थिक रूपमा स्वायत्त, सशक्त र प्रभावकारी हुने उनको भनाइ छ ।
सडक सुरक्षाका पाँच मापदण्ड
यस नीतिले सडक सुरक्षाका पाँचखम्बे नीतिलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजानसमेत मद्दत पुग्ने सहसचिव पन्तको भनाइ छ । अन्तर्राष्ट्रिय रूपमा सडक सुरक्षा (रोड सेफ्टी) का पाँच वटा प्रावधान छन् । उनले भने, “रोड सेफ्टी’ का लागि पहिलो नम्बरमा ‘रोड सेफ्टी म्यानेजमेन्ट’ हो । यस अन्तर्गत सडकसँग सम्बन्धित निकाय चुस्तदुरुस्त बनाउनु पर्छ । दोस्रोमा ‘सेफर रोड’ पर्छ । यस अन्तर्गत सडकको निर्माण राम्रो र गुणस्तरीय गर्नु पर्छ । तेस्रोमा सवारीसाधन चुस्त र सुरक्षित हुनुपर्यो ।
त्यसै गरी चौथोमा ‘सेफर रोड युजर’ हुनु पर्छ । यस अन्तर्गत सडकमा यात्रा गर्ने यात्रु र सवारीसाधन चलाउने चालक सचेत तथा सडक सुरक्षाबारे सामान्य भए पनि जानकार हुनुपर्यो । पाँचौँमा ‘आफ्टर क्रास म्यानेजमेन्ट’ राम्रो हुनु पर्छ । यस अन्तर्गत दुर्घटनापछिको उद्धार तथा उपचार छिटोछरितो र स्तरीय हुनु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।