झापामा ठगी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
झापामा ठगी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका १ का ६१ वर्षीय नरबहादुर विक २४ वर्षपछि पक्राउ गरेका हुन् ।
झापा जिल्ला अदालतमा आज उपस्थित गराई अदालतको आदेशले झापा कारागार पठाइएको डीएसपी खगेन्द्र खड्काले बताए । ठगी मुद्दामा झापा जिल्ला अदालतको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार उनलाई १ वर्ष कैद र ५३ हजार ३३३ रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले गत चैत महिनामा विभिन्न मुद्दा शीर्षकका ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ७ महिला र ४४ जना पुरुष रहेका छन् । उनीहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानको लागि कारागार पठाइएको र जरिवाना असुल्न बाँकी रहेका प्रतिवादीलाई जरिवाना दाखिला गराउन लगाई छाडिएको डीएसपी खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कैद–२७ वर्ष ९ महिना ७ दिन तथा जरिवाना ५० लाख ४३ हजार ४१० रुपैयाँ असुल उपर भएको छ।