२०८३ आश्विन १० गते , शनिबार

झापामा नेटवर्किङ व्यवसाय र चिठ्ठाको ठगी धन्दा, प्रशासन किन मौन ?

sajilo news
झापा
२०८३ आश्विन १० गते , शनिबार
झापामा नेटवर्किङ व्यवसाय र चिठ्ठाको ठगी धन्दा, प्रशासन किन मौन ?

कानुनी रुपमा प्रतिबन्ध रहेपनि झापाको बिर्तामोडमा नेटवर्किङ व्यवसाय र चिट्ठा खोलेर हजारौँ सर्वसाधारणलाई ठगी गरिरहँदा प्रहरी प्रशासनले दह्रो भएर कारबाही गर्न सकिरहेको छैन ।

धेरै पीडितहरूको गुनासो आएपछि प्रहरीले एकाध पटक अवैध रुपमा व्यवसाय गर्ने व्यवसायीहरूलाई समातेपनि कानुनी कारबाही गर्न सकेको छैन । पक्राउ पर्नेहरू केही दिनमै छुट्ने गरेका छन् । ठगी खाने ठूलो गिरोहसम्म प्रहरी पुग्न नसकेको हो । नेटवर्किङ व्यवसाय र चिट्ठा सञ्चालन गर्दै आएको एनके प्युरिफायरबाट ठगिएको भन्दै केही दिनअघि धेरै पीडितहरू इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका थिए । एनके बेभरेजको कथित ठगी प्रकरण प्रहरीसम्म पुगेपछि नेटवर्किङ व्यवसायबाट आफूहरू पनि ठगिएको भन्दै अन्य पीडितहरू मिडियाको सम्पर्कमा आउन थालेका छन्।

बिर्तामोडमा एनके ,ब्राभो, साक्षी, अजम्बरी, युटर्न , एसकेडी , युएलसी ,हेल्दी लिभिङ, प्राइम वेलबिइङ जस्ता दर्जनौँ कम्पनीहरूले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको र ती व्यवसायमार्फत हजारौँ सर्वसाधारणलाई सदस्य बनाएर रकम उठाउने गरिएको छ ।

अनुसन्धानका क्रममा ती कम्पनीहरूले आफ्नो व्यवसायको वास्तविक सदस्य सङ्ख्याभन्दा बढी सदस्य देखाउने, नक्कली सदस्य खडा गरेर पुरस्कार विजेता बनाउने र त्यस्तो पुरस्कार रकम कम्पनीमै राख्ने गरेको प्रमाणसमेत फेला परेको छ।
त्यसैगरी, वास्तविक सदस्यलाई पुरस्कार परेमा पनि विभिन्न शीर्षकमा रकम काट्ने गरिएको पाइएको छ। पुरस्कार पाउने व्यक्तिलाई एजेन्टको नाममा ५ प्रतिशत तथा २५ प्रतिशत कर भन्दै रकम काटेर राखेपनि उक्त रकम सरकारी राजस्वमा दाखिला नगरेको पाइएको छ ।

नेटवर्किङ कम्पनीहरूले आकर्षक आम्दानी, पुरस्कार तथा विभिन्न सुविधा पाउने प्रलोभन देखाउँदै सर्वसाधारणलाई सदस्य बनाउने गरेको पीडितहरूको भनाइ छ। सदस्य बनाएबापत कमिसन तथा विभिन्न तहमा रकम प्राप्त हुने संरचना देखाएर नयाँ सदस्य थप्न प्रोत्साहित गर्ने गरिएको उनीहरूको आरोप छ । महँगो कार , मोटरसाइकल , फ्रिज , वासिङ मेसिनजस्ता आकर्षक उपहार दिने भन्दै सञ्चालन गरिएको चिठ्ठाको लोभमा धेरै सर्वसाधारण परिसकेका छन् ।

प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभ देखाएर महिना–महिनामा सर्वसाधारण ग्राहकलाई रकम बुझाउन लगाउने गरी चिट्ठा धन्दाको सञ्जाल विस्तार भइरहँदा प्रहरी प्रशासनले रोक्न नसकेको हो ।

घुमाउरो पाराले आफ्नो कम्पनीको प्रोडक्ट बिक्री गर्ने उद्देश्यसहित चिट्ठा बिक्रीबाट लाखौँ कमाउने गरी बिर्तामोडमा एकपछि अर्को गर्दै दर्जन बढी कम्पनीहरूले त्यस किसिमको अवैध धन्दा सञ्चालन गरिरहेका छन् । राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरूले अवैधरुपमा चिट्ठा सञ्चालन गरिरहेकाले प्रहरी प्रशासनले अहिलेसम्म कारबाही गर्न नसकेको बताइन्छ ।
विगत दुई दशकअघि पिके फर्निचर , डिजाइनर फर्निचरजस्ता व्यावसायिक संस्थाले घरदैलो कार्यक्रमको नाममा त्यस किसिमको चिट्ठा सञ्चालन गरेका थिए । धेरै जना ठगीमा परेपछि प्रहरी प्रशासनले त्यस बेला बन्द गराएको थियो । अहिले त्यही चिट्ठा कार्यक्रमको पुनरावृत्ति भएको हो ।

यसरी खोलिएका चिट्ठा कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले कुनै पनि अनुमति नदिएको बताइन्छ । केही साताअघि बिर्तामोड प्रहरीले ग्लोबल ओरियन्स कम्पनीको कार्यालयमा छापा मारी ४१ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एक जनालाई मात्र प्रहरीले मुद्दा चलाएको छ । करिब दुई दशकअघि बिर्तामोडमा चिट्ठा कार्यक्रमकै कारण तनाव हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार