पञ्चाव किंङ्सलाई राजस्थानले हरायो
इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जाब किंग्सलाई ५० रनले हराएको हो। योसँगै पञ्जाबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोडेको थियो। ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गर्दै राजस्थानलाई सानदार सुरुवात दिलाए।
सञ्जुले ३८ रनको योगदान गरे भने यशस्वीले ४५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए। जारी सिजनमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका जैसवाल फर्गसनको बलमा बोल्ड भए।
नितिश राना १२ र सिम्रन हेटमेर २० रनमा आउट भए। रियान परागले अविजित ४३ रनको इनिङ्स खेले। ध्रुव जुरेलले १३ रनको योगदान गरे। पञ्जाबका लागि लकी फर्गुसनले २ विकेट लिए। मार्को यानसन र अर्शदीप सिंहले समान एक–एक विकेट हात पारे।
२ सय ६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो। खराब सुरुवात गरेको पञ्जाबले २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर प्रियान्स आर्यालाई जोफ्रा आर्चरले गोल्डेन डक गरे।
कप्तान श्रेयश अय्यर १० रनमा पवेलियन फर्किए। एक रन बनाएका मार्कस स्टोनिस सन्दीप शर्माको सिकार बने। प्रभसिमरन सिंह १७ रनमै आउट भए। नेहाल वादेरा र ग्लेन म्याक्सवेलले पाँचौँ विकेटको लागि ८८ रनको साझेदारी गरे। म्याक्सवेल ३० रनमा आउट भए। वादेराले सर्वाधिक ६२ रन बनाए पनि अन्य खेलाडीबाट थप साथ पाँउन सकेनन्।
राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए। महिशा थिक्साना र सन्दीप शर्माको नाममा समान दुई–दुई विकेट रह्यो। पहिलो दुई खेलमा पराजित राजस्थानको यो लगातार दोस्रो जित हो।
चार खेलमा ४ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ। सुरुवाती २ खेल जितेको पञ्जाबका लागि यो पहिलो हार हो। पञ्जाब तीन खेलमा चार अंकसहित तालिकाको चौथो स्थानमा छ।