मोरङमा दुई जना मृत फेला
मोरङको उर्लाबारी र केराबारीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मोरङको उर्लाबारी नगरपालिका-८ सिर्जना टोलस्थित सुरेश धिमालको धानखेतको जमेको पानीमा झापा दमक नगरपालिका-१० का ६२ वर्षीय पञ्जावसिंह लिम्बु उतानो परेको अवस्थामा मृत फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाट र इलाका प्रहरी कार्यालय पथरीको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरेको छ। शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङकै केराबारी गाउँपालिका-९ बेलचौरीस्थित एक फलैँचामा ७० वर्षीय घनबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट भलुवा र इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।