गुजरातले बैंगलुरुलाई ८ विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ। एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा भएको खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई ८ विकेटले पराजित गरेको हो।
आरसीबीले दिएको १७० रनको लक्ष्य गुजरातले १७ दशलमव ५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। गुजरातका लागि जोस बट्लर ७३ र शेरफन रदरफोर्ड ३० रनमा अविजित रहे। ३९ बलको सामना गरेका बट्लरले ६ छक्का र ५ चौका प्रहार गरे।
१८ बल सामना गरेका रदरफोर्डले ३ छक्का र १ चौका प्रहार गरे। यसैगरी, साई सुदर्शनले ४९ र कप्तान शुभमन गिलले १४ रनको योगदान दिए। आरसीबीका लागि भुवनेश्वर कुमार र जोस हेजलवुडले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो।
आरसीबीका लागि लियाम लिविङ्गस्टोनले सर्वाधिक ५४ रनको योगदान दिए। यस्तै, जितेश शर्माले ३३ र टिम डेभिडले ३२ रन जोडे। फिल साल्टले १४ र कप्तान रजत पाटीदारले १२ रन जोडेका थिए। गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए। यस्तै, साई किशोरले २ तथा अर्शद खान, इशान्त शर्मा र प्रसिद्ध कृष्णले समान १–१ विकेट लिए।
जितसँगै गुजरात ३ खेलबाट ४ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट ४ अंक नै जोडेको आरसीबी तेस्रो स्थानमा झरेको छ। प्रतियोगिता अन्तरगत आज कलकता नाइट राइडर्स र सनराइजर्स हैदरबादबीच राति पौने ८ बजे इडन गार्डेनमा हुनेछ।